फिल्म । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ । फिल्मले पहिलो हप्ता ५ करोड ५४ लाख र दोस्रो हप्तामा ३ करोड ग्रस कलेक्सन गरेको दाबी निर्माण टिमको छ ।
निर्मात्री तथा अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमार्फत फिल्मको दुइसातासम्मको व्यापार ८ करोड ५२ लाख रहेको जनाएकी छिन् । तेस्रो हप्तामा फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ । यद्यपि, नेपालभर नै राम्रो व्यापार गरेपनि अन्य सहरमा भन्दा तुलनात्मक रुपमा नेपालगञ्ज र दाङमा यसको व्यापार अझै राम्रो छ ।
यस्तै फिल्मले डायस्पोरामा पनि उत्साहजनक व्यापार गरिरहेको वितरक सेभेन सिज इन्टरटेमेन्टले जनाएको छ । अहिले सिनेमा अष्ट्रेलिया, न्युजल्याण्ड, जापान, दक्षिण कोरिया, जापान र मध्य पूर्वका धेरै देशमा प्रदर्शन भईरहेको छ । विस्तारै अमेरिका, क्यानडा, युरोपका विभिन्न देशमा रिलिजको तयारी भईरहेको निर्मात्री ढुंगाना बताउँछिन् ।
नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको फिल्मले दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण आगामी दिनमा व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दर्शकले फिल्मलाई रुचाएको बताइन ।
चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।











