सङ्गीत । ‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ । यस गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन् । यस गीतको सङ्गीत र शब्द स्व. सुनिल बर्देवाले तयार पारेका थिए । यो गीतले नेपाली सङ्गीतप्रेमीहरूमाझ बर्देवाको योगदानलाई पुनः ताजगी स्मरण गराएको छ । गीतको भिडियोमा द एन्जल्स ब्यान्डका सदस्यहरूको प्रस्तुति रहेको छ, जसमा गायक राजु लामासँगै राजेश, बिकाश र ताशी रहेका छन् ।
यो गीत आरएल डिजिटल रेकर्डिङ स्टुडियो, बाल्टिमोर, अमेरिकामा रेकर्ड गरिएको हो र भिडियो पनि अमेरिकामा नै तयार पारिएको छ । भिडियोको निर्देशन र छायांकन संगमले गरेका छन् भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन् । भिडियो सम्पादनमा अन्जय खड्का र बालकृष्ण श्रेष्ठले सहकार्य गरेका छन् ।
यो गीत स्वर्गीय सुनिल बर्देवा (गुरु बा) लाई श्रद्धाञ्जली स्वरूप समर्पित गरिएको गायाक लामाले बताए । बर्देवा नेपाली पप संगीतका चर्चित गायक, गीतकार, संगीत संयोजक र गिटारवादक थिए, जसले गिटारमा विशेष दक्षता हासिल गरेका थिए । उनका ‘गोरटो अनि उस्तै छ गली’ र ‘बिहानीमा’ जस्ता गीतहरू विशेष चर्चित छन् । बर्देवा सन् २०१६ मा ४४ वर्षको उमेरमा दिवंगत भएका थिए ।











