‘ह्रस्व-दीर्घका कारण भारतमा नेपाली फिल्मको चर्चा भएको छ’ : विपना

फिल्म । अभिनेत्री विपना थापाले १६ वर्षपछि फिल्म ‘ह्रस्व–दीर्घ’ मार्फत अभिनयमा कमब्याक गर्दैछिन् । कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा उनलाई अभिनेता हरिहर अधिकारीको आमाको रूपमा देख्न सकिन्छ । उनले आफू हिरोइनबाट अभिनेत्री बनेपछि विभिन्न अफरहरू आइरहेको बताइन ।

‘अब मैले आफूलाई सुहाउँदो चरित्रमा काम गर्ने सोच बनेकी छु । आउँदो दिनमा मलाई विभिन्न फिल्ममा देख्न सक्नुहुनेछ । फेरि एकपटक फिल्ममा फर्किएकी छु । सबैले साथ र माया दिनुहोला,’ विपनाले भनिन् ।

विपना भारतमा घरजम गरेका कारण फिल्म क्षेत्रबाट केही समय बाहिर रहेकी थिइन् । ‘ह्रस्व–दीर्घ’ मा उनलाई अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले अभिनयका लागि अफर गरेकी थिइन् । ‘अभिनय गरेर आर्जन गरेको सम्पति फिल्म मै लगानी गर्नुलाई शब्दले धन्यवाद भन्न सकिन्न । नीतालाई साथ् दिनुपर्छ भन्ने लागेर मैले आफ्नो भूमिका नसुन्दै फिल्ममा अभिनय गर्ने सहमति दिएँ । म ‘ह्रस्व–दीर्घ’ को परिवार बन्न पाएकोमा उत्साहित छु’, उनले भनिन् ।

विपनाले ‘ह्रस्व–दीर्घ’ मार्फत आफ्नो सपना पुरा भएको समेत बताइन । ‘भारतमा रहदा नेपाली कलाकारले पनि भारतीयसँग काम गरुन, आपसी ज्ञान आदानप्रदान होस्, हाम्रो चर्चा पनि भारतमा होस् भन्ने लाग्थ्यो । ‘ह्रस्व–दीर्घ’ मार्फत त्यो पुरा भयो । भारतका कलाकारले नेपाली फिल्म र मेकिङको चर्चा गर्नेछन्, यसले हामीलाई टेवा पुग्छ’, उनले भनिन् । उनले केही समय अगाडि भारतीय पत्रपत्रिकामा नेपाली फिल्ममा भारतीय कलाकारको अभिनय रहेको खबर देख्दा हर्षित भएको समेत स्मरण गरिन् ।

कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भनिएको छ ।नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्