फिल्म । मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ यही असार २८ मा प्रदर्शन हुँदैछ । निर्देशक अनिल बुढा मगरले आफ्नो डेब्यु फिल्ममा विवाह संस्कृतिलाई प्रस्तुत गरेका छन् । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको प्रेमलाई मगर संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ । मिरुनालाई प्राप्त गर्न दया घर ज्वाइँ बस्नु पर्ने प्रचलनलाई फिल्ममा देखाईएको छ ।
यसलाई अहिनेत्री मगर छोरीको लागि निकै राम्रो बताउछिन् । ‘मलाई यो संस्कृति गज्जब लाग्यो । छोरी भएका कारण पनि यो मन परेको हुन् सक्छ । आफ्नो छोरीको खुसी जुनै अभिभावकले पनि चाहनुहुन्छ, यसमा आफ्नै घरमा राखेर परिक्षण गरिन्छ । यसले छोरीलाई पालन सक्ने व्यक्ति भनेर पहिचान गराउँछ’, अभिनेत्री मगरले भनिन् । उनी आफैँ उक्त समुदायको भएपनि विदेशमा हुर्केबढेकाले संस्कृतिलाई फिल्म गर्दा नजिकबाट बुझ्न पाएको बताइन ।
अभिनेता राईले छोरीलाई उच्च स्थानमा राख्ने परम्पराको रुपमा चित्रण गरे । उनले भने,‘भोलिका दिन दु:ख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन भन्ने परिक्षा लिएको जस्तो लाग्यो । कुनै परम्परामा सोध खोज गरिन्छ भने यहाँ प्रत्यक्ष हेरेर मुल्यांकन गरिँदो रैछ । ज्वाइँ त खास नै छ, तर छोरीलाई पछि कसरी पाल्छन् भन्ने हेर्न चाहेका हुन् । मैले यो संस्कार र संस्कृतिलाई फिल्मकै कारण बुझ्न पाएँ ।’
निर्देशक मगरले ट्रेलर हेर्दा ‘जारी’ सँग मिल्दोजुल्दो देखिए पनि मगर संस्कृति लिम्बू भन्दा निकै फरक रहेको बताए । उनले भने,‘आफुलाई मन परेको महिला पात्रलाई तानेर विवाह गरेको देखेर उस्तै लाग्यो होला किनकि हामी आदिवासी समुदायका हरेक जातिमा यो प्रचलन समान जस्तै छ । तर, यसको प्रक्रिया र प्रस्तुती फरक छ । किनकि हाम्रो संस्कृति नै भिन्न छ ।’
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।













