फिल्म । निर्देशक दिनेश राउतले चलचित्र ‘पुजार सार्की’ अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । यसअघि प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने सार्वजनिक भइसकेको थियो ।
निर्देशक राउतले पलको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरेका हुन् । फोटोमा शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । फोटोले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ ।
निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । उनले मेघराजले के कस्तो सङ्घर्ष गर्नुपरेको छ, त्यो थाहा पाउन प्रतीक्षा गर्न दर्शकलाई आग्रह गरेका छन् । राउतले केही दिनमा चलचित्रको आधिकारिक रिलिज मिति तोक्ने जनाएका छन् । चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।
चलचित्रमा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् ।
चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ ।











