फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले एक सातामा ६ करोड २४ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा भनिएको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले दोस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ ।
यसका साथै नेपालकै ठूलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ । पहिलोपटक उक्त हलले नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ घोषणा गरेको हो । क्युएफएक्सकी जेनरल म्यानेजर तृप्ति गिरीले केही समय अगाडिको निर्णय अनुसार फिल्मलाई वर्गीकरण गरिएको बताइन ।
‘हाम्रो नेपालभरका हलमा प्रदर्शन भएर पहिलो तीन दिन र एक सातामा गरेको व्यापारका आधारमा सुपरहिट, ब्लकबष्टर घोषणा गर्ने थालनी गरेका हौँ । महाजात्रामार्फत सुरुआत भएको छ । यो नेपाली मात्र नभई क्युएफएक्समा प्रदर्शन हुने सम्पूर्ण फिल्ममा लागु हुनेछ’, उनले भनिन्,‘हाम्रो हलमा प्रदर्शन भइरहेका फिल्ममा दर्शकको आकर्षणलाई यसले सहज रुपमा बुझ्न मदत गर्छ । गतसाता प्रदर्शन भएकोमा महाजात्रा मात्र हाम्रो व्यापारको आधारमा सुपरहिट भएको हो ।’
चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।
फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमति बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनि एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमति प्रदर्शनमा छ ।
तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्मलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।
आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।












