फिल्म । नेपाली चलचित्र ‘रङ्गेली’ लाई बुधवार बेलुकी प्रिमियरमा हेर्नेले रुचाएका छन् । बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना भएको प्रिमियरमा यसका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे । दयाहाङ र मिरुना यही प्रिमियरको लागि रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । त्यहाँ चलचित्र ‘घरज्वाईं’को छायाङ्कनमा रहेका कलाकारद्वयसँगै छायाकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए ।
प्रिमियर पछि चलचित्रमा दयाको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा भएको छ । अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको यो चलचित्रबाट उनले नेपाली चलचित्र उद्योगले गतिलो निर्देशक पाएको भन्दै प्रशंसा भएको छ । निर्धारित समयभन्दा केही ढिलो प्रिमियर प्रदर्शन सुरु भएता पनि पत्रकार तथा चलचित्रकर्मीसहित झन्डै चार सय पाहुनाले राती ११ बजेसम्म बसेर ‘रङ्गेली’ हेरेका थिए ।
प्रिमियरमा चलचित्रको क्लाइमेक्स र यसको अन्त्यमा सबैले वाह वाही गरेका थिए । अप्रत्याशित रूपमा अन्त्यमा आउने पात्र (आर्यन सिग्देल)को दमदार केमियोको व्यापक चर्चा भएको छ ।
प्रिमियरमा उपस्थितले दिएको प्रतिक्रियाले अभिनेता राईले बाटोको कठिनाईलाई बहुलाएको प्रतिक्रिया दिए । उनले भने,‘बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौँ । यो चलचित्रबाट निकै आशा छ ।’ एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए ।
बिरामी र अनिद्रामा रहेकी मिरुनाले चलचित्र हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन् । चलचित्र हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन् ।
उनले भनिन्,‘दयाले यसमा ग्रे जोनमा बस्ने पात्रको अभिनय गरेर एकदम राम्रो काम गर्नुभएको छ ।’ उनले शालीन जुनकिरी (मिरुना)बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो चलचित्रको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन् ।
चलचित्रका निर्देशक सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको बताए । प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनले जनाए ।
बुधवारदेखि नै रङ्गेलीको अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।











