फिल्म । ‘रङ्गेली’ फिल्मको शीर्षकमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र दिन अस्वीकार गरेपछि फिल्मकर्मीले यसको चर्को विरोध गरे । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानिय निकायको स्वीकृति पत्र ल्याएपछि मात्र प्रदर्शनको अनुमति (प्रमाणपत्र) दिने बोर्डको अडान थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिदै प्रमाणपत्र दिएको छ ।
आइतबार बिहान बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ । निर्देशक अर्जुन सुवेदीले स्थानीय निकायको स्वीकृति पत्र बिनै प्रमाणपत्र पाएको जानकारी दिए । फिल्मले पीजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । प्रमाणपत्र पाएसँगै अब ‘रङ्गेली’लाई प्रदर्शनको बाटो खुलेको छ ।
निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह-निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईँ हुन् । फिल्मका छायाँकार सुशन प्रजापति हुन् ।











