अध्यक्ष ओलीले हेरे ‘गोर्खा वारियर’

फिल्म । काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियरमा तारिफ पाएको छ । फिल्म हेर्न आइपुगेका विशिष्ट अतिथिदेखि चलचित्रकर्मीले यसको मेकिङ र विषयवस्तुको तारिफ गरेका छन् । फिल्म हेरेर निस्किएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्देशक तथा निर्माता मिलन चाम्सलाई धन्यवाद दिए ।

‘फिल्मले यस्ता विषयलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सक्नुपर्छ । यो फिल्मले नेपालीको वीरताको कथा पर्दामा आउनु जरुरी थियो । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न लाउँदा खुसी महसुस गरेँ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ’, अध्यक्ष ओलीले भने ।

आयोजित प्रिमियरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै कलाकर्मीहरू हरिवंश आचार्य, सरोज खनाल, प्रियंका कार्की, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा लगायत सहभागी थिए ।

फागुन ११ गते शुक्रबारदेखि प्रदर्शन गरिने फिल्म ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ।

यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए। ‘मैले युद्धका क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ’, अभिनेता चाम्सले भने । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्