मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ निर्माण हुने

फिल्म । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित फिल्म ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले फिल्म निर्माणबारे औपचारिक जानकारी दिएका हुन् । यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता सफल बायोपिक फिल्म निर्देशन गरिसकेका निर्देशक चाम्सले यो परियोजनाले आफूलाई अवसरसँगै चुनौती पनि दिएको बताए ।

अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनकथालाई फिल्ममा उतार्ने निर्णय गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे । श्रेष्ठले फिल्ममा आफ्नो भूमिका निर्वाह गर्ने अभिनेता महेश त्रिपाठीको प्रशंसा गर्दै उपयुक्त कलाकार छनोट भएको बताए ।

अभिनेता हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठको जीवनकथा फिल्मका लागि उपयुक्त विषय भएको बताउँदै दर्शकमाझ यसले विशेष प्रतीक्षा सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले मदनकृष्ण श्रेष्ठलाई आफ्नो अभिभावकका रूपमा मान्दै आएको र उनीहरूको सहयात्राले ४६ वर्ष पूरा गरिसकेको बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठसँगै मह सञ्चारसँग आबद्ध किरण केसी, राजाराम पौडेल, गौरीशंकर धुजु र नरेन्द्र कंसाकारको पनि सहकार्य रहनेछ । यम थापाको लेखन रहने फिल्ममा केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहने जनाइएको छ।

कार्यक्रममा दिनेश डिसी, आनी छोइङ डोल्मा, प्रेमराजा महत, लक्ष्मण सुवेदी तथा सुदन केसीलगायतको उपस्थिति रहेको थियो। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी भदौ महिनादेखि सुरु गरिनेछ ।

कमेन्ट गर्नुहोस्