देश । पोखरामा चौथो संस्करणको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना हुने भएको छ। पोखरा फिल्म सोसाइटीले आयोजना गर्ने महोत्सव पोखरा थिएटरमा चैत १ र २ गते गरी दुई दिनसम्म चल्नेछ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २० देखि ४० फिल्म प्रदर्शन गर्ने तयारी भएको पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधानले बताए।
फेस्टिभलका लागि अनलाइनमार्फत फिल्म आह्वान गरिएको थियो । यसरी गरिएको आह्वानमा ५६ देशका ५ सय ६५ वटा फिल्मले फेस्टिभलका लागि आवेदन दिएका छन् । हाल अनलाइन आवेदन बन्द गरी प्राप्त फिल्ममध्ये फेस्टिभलका लागि छनोट गर्न थालिएको अध्यक्ष प्रधानले बताए। महोत्सवमा प्रदर्शन हुने तीन मिनेटदेखि डेढ घण्टासम्मका फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कला, संस्कृति, जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणलाई झल्काउनेछन् । महोत्सवका लागि वृत्तचित्र, सर्ट फिल्म, कथानक फिल्म, प्रयोगात्मक फिल्म, एनिमेसन फिल्म छनोट हुनेछन्।
फिल्मप्रेमी दर्शकले महोत्सवमा निःशुल्क फिल्म हेर्न पाउनेछन् । फिल्मनगरीको परिचय बनाएको पोखरामा फिल्म फेस्टिभलको माहौल बनाउन आफूहरूले निरन्तर महोत्सव आयोजना गर्दै आएको आयोजकको भनाइ छ ।









