फिल्म । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘दुखी आत्मा’ सार्वजनिक टिजर र ‘ब्रेकअप कविता’ का कारण चर्चामा छ । ‘एडल्ट ड्रामा’ भनिएको फिल्मको विषय के होला ? भन्ने जिज्ञाशा धेरैलाई हुन् सक्छ । निर्देशक लामाले फिल्मको विषयको बारेमा संवाद गरेका छन् । उनले फिल्म पुरुषमा हुने इरेक्टाइल डिस्फक्सन अर्थात् लिङ्ग उत्तेजित नहुने समस्याको बारेमा रहेको बताएका छन् ।
यस्ता विषयलाई विदेशी फिल्ममा प्रसस्तै हेर्न पाएता पनि नेपालमा भने फिल्ममा पहिलोपटक आउदैछ । ‘एडल्ट’ विषय भएकै कारण दर्शकले अपेक्षा गरेभन्दा फरक टिजर आएको निर्देशक लामाले बताए ।
उनले भने,‘अव्यवस्थित जीवनशैली, मानसिक तनाव र मधुमेह तथा अन्य कारणले पुरुषमा यस्तो समस्या बढेको पाइएको छ । यौन स्वास्थ्यमाथि बनेका धेरै विदेशी फिल्म हेरेको थिएँ । मलाई पहिलेदेखि नै लाग्थ्यो, नेपालमा यस्तो विषयमा फिल्म कहिले बन्छ ? पछि आफैँ निर्देशनमा आएपछि यो विषयलाई उठाएको छु ।’
उनले यसलाई हास्य प्रधान फिल्म भएको बताए । उनले गम्भीर विषयलाई प्रस्तुतीकरण भने हास्य शैलीमा गरिएकाले दर्शकले भरपुर मनोरञ्जन पाउनेमा विश्वस्त रहन जोड दिए ।

‘यो नयाँ कन्टेन्ट भएकाले यसको प्रस्तुतीकरणमा विशेष ध्यान दिएका छौँ । यो फिल्मी शैलीमै मनोरञ्जन दिदै संवेदनशीलतालाई महसुश गराउने फिल्म बनेको छ’, निर्देशक लामाले भने ।
दयाहाङ राई र आँचल शर्मा अभिनित फिल्म ‘दुखी आत्मा’ सार्वजनिक सामग्रीलाई विशेषत युवापुस्ताले राम्रो रेस्पोन्स दिएका छन् । प्रणय दिवसको अवसर पारेर फागुनको २ गतेबाट रिलिजमा आउने फिल्म ‘दुखी आत्मा’ को टिजर र ‘ब्रेकअप कविता’ मा अभिनेता राई र अभिनेत्री शर्माले बोलेको संवाद अहिले सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ ।

फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । हिमाल कडरियाको लगानी रहेको फिल्ममा सुदिप ढकाल कार्यकारी निर्माता, आलोक शुक्लाको छायाँकार, निमेष श्रेष्ठको सम्पादक रहेका छन् ।