फिल्म । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल भएको चलचित्र ‘गोर्खा वारियर’ मोफसल यात्रामा निस्किएको छ । पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको चलचित्रमा गोर्खालीको वीरताको गाथा समेटिएको चलचित्रका निर्देशक मिलन चाम्स, अभिनेता रितेश चाम्स र अभिनेत्री रेबिका गुरुङ रहेका छन् ।
धरानमा पत्रकार भेटघाट गर्दै सुरु गरिएको मोफसल यात्रा हेटौडा, चितवन, बुटवल र पोखरामा हुने निर्देशक चाम्सले जानकारी दिए । उनले भने,‘हामी मोफसल यात्रामा सञ्चारकर्मी, प्रदर्शक र दर्शक भेट्दै छौँ । मोफसलमा दर्शकको साथ हामीलाई प्राप्त छ, त्यसैले प्रदर्शन अगाडि पनि उहाँहरूलाई भेट्न निस्किएका हौँ । हाम्रो यात्रा धरानबाट सुरू भएको छ ।’
सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो चलचित्र नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।
विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।
युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । चलचित्रको एसोसियट वितरकको रुपमा रीच इन्टरटेनमेन्ट जोडिएको छ ।











