फिल्म । फागुन ११ लाई प्रदर्शन तय गरिएको फिल्म ‘गोर्खा वारियर’ चार भाषामा प्रदर्शन हुने भएको छ । फिल्म नेपाली भाषामा तयार भएता पनि हिन्दी, अंग्रेजी र कोरियन भाषामा तयार गर्ने कार्य भइरहेको छ । रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
फिल्मलाई हिन्दी संस्करणमा रितेशको स्वरांकन डविङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । उनी भारतका प्रसिद्ध स्वर भर्ने कलाकार हुन् । उनले ‘केजीएफ’मा यशको स्वरांकन पनि गरेका थिए । अन्य कलाकारको पनि हलिउड तथा दक्षिण भारतीय फिल्ममा स्वरांकन गर्ने कलाकारले गरिरहेको निर्देशक चाम्सले बताए ।
पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ ।
सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतका कारणले यो फिल्म पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको थियो । अर्थात् नेपाली भाषाको फिल्मले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।











