फिल्म । काठमाडौँ कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गर्दै नेपाली फिल्म ‘खुश्मा’ बन्ने घोषणा गरिएको छ । धीरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने फिल्म माओवादी सशस्त्र द्वन्द्वकालको परिवेशमा तयार हुने निर्देशक अशोक थापामगरले जानकारी दिए । उनले फिल्मको कथाले द्वन्द्वको परिवेश माग गरेको जानकारी दिदै त्यहि परिवेशमा फिल्म तयार हुने बताए ।
‘उक्त समयको एउटा सशक्त प्रेम कथा हो । हामीले फिल्ममा द्वन्द्व देखाउने छैनौँ । यो केवल प्रेममा केन्द्रीत हुनेछ’, निर्देशक थापामगरले भने । उनले उक्त परिवेश र समयलाई नयाँ पुस्तालाई देखाउन आवश्यक लागेर कथा छनोट गरिएको जानकारी दिए ।
छोटो फिल्म निर्देशन गर्दै अन्तर्राष्ट्रियरुपमा प्रसिद्धि कमाएका निर्देशक थापामगरको ठूलोपर्दाका लागि यो पहिलो निर्देशकीय फिल्म हो । अभिनेता मगरले आफूले गरिरहेको भन्दा फरक भूमिका रहेको जानकारी दिए । ‘रुकुमको परिवेश र छायांकन मेरो लागि नयाँ हुने छ । म प्राय सहरिया युवाको भूमिकामा प्रस्तुत भएको छु, यो मेरा लागि पनि नयाँ हुनेछ’, अभिनेता मगरले भने ।
अभिनेत्री ठकुरीले पनि भूमिकासँगै रुकुमको परिवेश आफूलाई नयाँ हुने बताइन । एम मिडियाको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा हुनेछ । यसमा खड्गबहादुर पुन, अस्तित्व भट्टचन, अरुण मगर, संगीता थापा लगायतले पनि अभिनय गर्दै छन् । फिल्ममा सुरेन्द्र राना तथा राम अविरल विष्टले गीत रचना, एसडी योगीले सङगीत सिर्जना, दीपक बज्राचार्यले छायांकन गर्नेछन् । दुई वटा सुटिङ तालिकामा खिचिने फिल्मका निर्माता बेताने मगर,चन्द्र भट्टचन,मोहन राई र सुस्मिता बुढाथोकी हुन् ।










