सनातन संस्कृतिको महत्त्व दर्शाउने ‘युटोपिया’

देश । सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया-एक सुन्दर भविष्य’ को टिजर आइतबार सार्वजनिक गरिएको छ । युटोपियाको अर्थ रामराज्य हुने भएकोले पनि रामसीता विवाहको अवसरमा सार्वजनिक गरिएको हो । कार्यक्रममा सनातन संस्कृति भित्र लुकेका रहस्य उजागर गर्ने निर्माता पक्षले जनाएको छ । आजको पुस्तालाई आफ्नो संस्कृति बुझ्न यस कार्यक्रमले फाइदा पुग्ने बताइएको छ । मेगा आर्ट एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमका निर्माता नवराज लम्साल छन् ।

युटोपियाबाट समाजसेवासमेत गर्ने भन्दै हाल निर्माता लम्साल युटोपिया फाउन्डेसन अमेरिका शाखा बिस्तारको लागि अमेरिकामा छन् । चलचित्र लेखक, निर्देशक, पत्रकार एवं युवा ज्योतिषको रूपमा परिचित जनक खड्काले कार्यक्रम प्रस्तुत एवम् निर्देशन गर्नेछन् । यस कार्यक्रममा पत्रकार पंकज मिश्रले एक विशेष धार्मिक रिपोर्ट प्रस्तुत गर्नेछन् । यस कार्यक्रमबाट देशमा चलेको धार्मिक समस्यासमेत हटाउन सहयोग मिल्ने विश्वास आयोजकको छ।

कार्यक्रममा देशका विशिष्ट योगदान दिनेहरूलाई अतिथिका रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा अतिथिको जन्मकुण्डली विश्लेषण गरिने निर्देशक खड्काले जानकारी दिए । कार्यक्रममा धर्मका साथै धर्मसँग जोडिएको विज्ञानको विषयमा बहस हुनेछ ।

कमेन्ट गर्नुहोस्