देश । लण्डनमा सम्पन्न ६७ औं संस्करणको बिएफआई लण्डन फिल्म फेस्टिभलमा नेपालको तर्फबाट डेलिगेट्स (प्रतिनिधि) को रुपमा सहभागिता जनाएका नेपाली फिल्म तथा म्युजिक भिडियोका स्थापित सिनियर सम्पादक भरत रेग्मीले आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गरेको बताएका छन् । केही दिनअघि सम्पन्न उक्त फेस्टिभलमा आफूले नेपाली डेलिगेट्सको रुपमा दिइएको जिम्मेवारी प्रभावकारी शैलीमा निर्वाह गरेको सम्पादक रेग्मीको भनाइ छ । उक्त फेस्टिभलका आयोजकले विश्वका सिमित व्यक्तित्वहरुलाई डेलिगेट्सको रुपमा छनोट गर्ने क्रममा नेपालबाट रेग्मीलाई छनोट गरेको थियो ।
फेस्टिभलमा डेलिगेट्सको रुपमा नेपालबाट छनोट भएपछि लण्डन पुगेका रेग्मीले आफ्नो सहभागिता सोचेको भन्दा उत्कृष्ट भएको लण्डनबाटै हामीलाई बताएका छन् । नेपाली डेलिगेट्सको रुपमा रेग्मीले देशलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण अवसर पाएका थिय ।
भरत भन्छन्,‘सर्वप्रथम त मैले यो महोत्सवमा फरक देशका, फरक समुदायका अनि फरक पृष्ठभूमिबाट आएका फिल्मकर्मीहरुको अनुभव हेर्ने र बुझ्ने अवसर पाएँ। उनीहरुले हरेक कुरालाई कसरी लिन्छन्, कसरी सोच्छन्, कसरी अवधारणा तयार पार्छन्, कसरी फिल्म मेकिङ गर्छन्, फिल्मको स्टोरी टेलिङको बारेमा कसरी सोच्छन्, फिल्मको समाज प्रतिको उत्तर दाईत्व के हो भन्ने कुरा कसरी सोच्छन् यि याबत कुरा अति नै गहन रुपमा बुझ्ने मौका पाएँ। मैले एउटा नेपाली चलचित्रकर्मी, नेपाली प्रतिनिधिको रुपमा यिनै कुरा बुझ्ने मौका पाएँ।’
उनले महोत्सवमा भाग लिएका विश्वका प्रायः सबै फिल्महरु हेर्ने मौका पाएको र आफ्नो तर्फबाट फिल्मको उचित मूल्याकन गरेँको बताए । ‘हामी डेलिगेट्सहरुलाई महोत्सवमा सहभागिता जनाउने फिल्महरु हेर्नका लागि पिक्चर हाउस सेन्टरमा तीन वटा छुट्टै स्क्रिनको व्यवस्था गरिएको थियो । हामी सबै डेलिगेट्सहरुले त्यहाँ स्क्रिनिङ गरिएका सबै फिल्महरु हेर्यौं । पब्लिक स्क्रिन चाहिँ छुट्टै हलमा गरिने रहेछ । जति पनि सेसनहरु हुन्छन्, ती सबै डेलिगेट्सहरुकै बीचमा हुँदो रहेछ । पब्लिक सेसनमा ती कुराहरु नहुने रहेछ । पब्लिक स्क्रिनिङमा भने आम सर्वसाधारणहरुका लागि फिल्म हेर्ने व्यवस्था मिलाइएको हुने रहेछ । र, जति पनि फिल्म वर्ड प्रिमियर भय सबै पब्लिक स्क्रिनिङमा हुने रहेछ । म नेपालबाट यो महोत्सवका लागि प्रस्थान गर्ने बेलासम्म पनि मैले यति ठूलो उपलब्धि हासिल गर्छु भन्ने सोचेकै थिइन । यो महोत्वस यति धेरै भव्य, ब्यापक तथा स्तरिय हुन्छ होला भन्ने कुरा मैले सोचेकै थिइन। यो महोत्सवका सहभागिता जनाएर मैले यति ठूलो उपलब्धि हासिल गरेको छु कि म त्यसलाई शब्दमा व्यक्त गर्न सकिरहेको छैन’, भरतले भने।
महोत्सवकै क्रममा दक्षिण एशियाली फिल्मकर्मीहरुको एउटा छुट्टै भेलासमेत आयोजना गरेको थियो । यूके–एशिया फिल्म एशोसियसनको संयोजनमा उक्त भेला आयोजना गरिएको थियो । नेपालबाट भरतसहित पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका, भुटान आदि देशका फिल्म मेकरले उक्त भेलामा सहभागिता जनाए ।
‘समग्रमा एउटा नेपाली फिल्म एडिटर बेलायतसम्म आएर विश्वभरीका फिल्म मेकरहरुको समुहमा उनीहरुसंगै संगत गर्न पाउनुलाई मैले एउटा ठूलो उपलब्धिको रुपमा लिएको छु। यस्तो माहौलमा झण्डै दुई हप्ता बिताउन पाउनु मेरो लागि ठूलो अवसर हो’, भरतले भने ।
महोत्सवको क्रममा भरतले नेपाली डेलिगेट्सको रुपमा प्रिजेन्टसन पनि गरें । त्यसक्रममा भरतल आफ्नो भनाई राखेका थिए । ‘नेपाली फिल्म मेकर्सहरु आफ्नै आईडेन्टीटी बनाउन निरन्तर लागी रहेछन। त्यस्मा केही सफल भएर बिभिन्न ईन्टरन्यास्नल फेस्टिभल लगायत बजारमा गएका छन। नेपाली फिल्म नुमाफुङ, कालो पोथी, सेतो घाम, मुकुन्दो जस्ता फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएकाछन्। अर्को बर्ष बि एफ आई मा पक्कै पनि नेपाली फिल्म ल्याउने छु।’
नेपालमा सामान्यतया कुन निर्देशकले राम्रो फिल्म बनाउला र सम्पादकको रुपमा आफू पनि सहभागि हुन पाउँला भन्ने आशा अधिकांश एडिटरहरुको हुन्छ । तर भरत भने उनको मेहनत, प्रयास र तयारीले यो सफलता हासिल गर्न सफल भएँ । नेपालबाट यसअघि कुनै पनि एडिटरले यसरी महोत्सवमा सहभागिता जनाएर प्रिजजिङको कार्य गरेको सायदै यो पहिलो हो । यसले अरु प्रँविधिक, छायांकार, सम्पादकहरुका लागि एउटा मार्गदर्शक बन्ने छ । सम्पादक रेग्मीले करिव दुई महिनासम्म पेपर वर्क, प्रोजेक्ट वर्क तथा डकुमेन्टेशन रिभ्यू गरेपछि आफूलाई यो महोत्सवको डेलिगेट्सको रुपमा छनोट गरिएको बताएका छन् ।
रेग्मी नेपाली चलचित्र तथा म्युजिक भिडियोका अग्रणी सम्पादक हुन् । यस वर्षको फेस्टिभलमा आयोजकले विश्वभर चलचित्रमा काम गर्ने व्यक्तित्वहरूलाई डेलिगेटको रूपमा छनोट गरेको थियो । यो फेस्टिभलले यसै वर्ष ६७ वर्ष पुरा गरेको छ । ब्रिटिश फिल्म इन्स्टिच्यूटको सहकार्यमा लण्डनमा हरेक वर्ष यो फेस्टिभल आयोजना हुँदै आइरहेको छ । यो वर्ष यो फेस्टिभल गत अक्टोबर ५ देखि १५ सम्म सञ्चालन भएको थियो । बिएफआई फिल्म फेस्टिभलमा विश्वका ७० भन्दा बढी देशका २ सय ४० वटा फिचर फिल्म तथा १ सय५० वटा सर्ट फिल्महरु सहभागि भएका थिए। यो महोत्सवमा जापानी फिल्म ‘इभिल डज नट एक्जिस्ट’ ले बेस्ट फिल्म अवार्ड जित्न सफल भएको छ ।











