सङ्गीत । आज जमलस्थित राष्ट्रिय नाँचघरमा एक हजार भन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापाको एकल साँझमा सम्पन्न भएको छ । ‘तीर्थकुमारी स्वर्णीम साँझ २०८०’ मा उहाँले आफ्नो लोकप्रिय गीत गाउनुभयो । एकल र युगल गायनमा प्रस्तुत हुनुभएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पुरा भएको भन्दै सहभागीलाई धन्यवाद दिनुभयो ।
विसं २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गर्नुभएकी ७३ वर्षिया गायिका थापालाई युगल गायनमा उहाँको छोरा सुरज थापा, ध्रुवराज खड्का लगायतले साथ दिनुभयो । उहाँको छोरा गायक तथा सङगीतकार सुरज थापाले आमाको ईच्छालाई पुरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको बताउनुभयो ।
अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘डाँडामा माथि विहानै’ बाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीतहरू ‘म त खादिन कुवाँको पानी हो’, ‘ढुङगे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाई हो’ लगायतका लोकप्रिय नेपाली तथा नेपाल भाषाको गीत गाउनुभएको थियो । उपस्थित दर्शकको अनुरोध पश्चात उहाँले ‘माछी मार न हे दाई हो’ दुई पटक गाउनुभयो ।











