‘मायावी डेब्यु फिल्म झैँ हो’ : दीपिका

फिल्म । अभिनेत्रीका रुपमा दीपिका प्रसाईंले लगातार सफलताको यात्रा गरिन् । ‘ऐश्वर्य’ बाट फिल्ममा उदाएकी दीपिकालाई ‘तिमी रोएको पल’ गीतले धेरै दर्शकसम्म चिनायो । त्यसपछि उनले ‘छक्का पञ्जा ३’ मा काम गरिन् । यी दुई फिल्ममार्फत दीपिका सफलताको उकालो लागिरहेकी थिइन् । निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाधिएपछि उनको ‘हेल्लो जिन्दगी’ नामक फिल्म आयो । यो फ्लप भयो । त्यसपछि फिल्मबाट केही टाढिएकी दीपिकाको केही ग्यापपछि फागुनको १४ गतेबाट ‘मायावी’ प्रदर्शन हुँदैछ ।

यसलाई उनी आफ्नो डेब्यु फिल्म भन्न रुचाउछिन् । ‘धेरै समय ब्रेक भएका कारण यो मेरो लागि डेब्यु फिल्म जस्तै हो । फिल्म सुरू हुनु अगाडि मैले निर्देशक भट्टराईसँग सल्लाह गरेकी थिएँ, उहाँले मलाई नै पात्र इम्याजिन गरेको बताउनुभयो । मैले पनि त्यो पात्रमा आफुलाई पाएकी थिएँ । मैले उक्त पात्रमा जीवन भर्न सक्दो प्रयास गरेकी छु’, दीपिकाले भनिन् ।

उनले आउँदो समयमा अभिनेत्री कै रुपमा आफूलाई निरन्तर प्रयास गर्ने बताइन । गृहस्थी जीवनमा रहेकी दीपिका आमा बनिसकेकी छिन् । छायांकनको समयमा यसकारण पनि उनले उच्च सतर्कता अपनाएर काम गरेकी थिइन् । ‘गर्भवती हुँदा मुड स्वीङ धेरै हुने रहेछ, रोमान्टिक दृश्यमा रुन मन लाग्ने पनि भएको छ । त्यस्तो बेला धेरै मेहनत गरेकी छु’, उनले भनिन् । निर्देशक भट्टराईले एउटा आमाले गर्ने मेहनत कसैले गर्न नसक्ने बताए ।

फिल्ममा पल शाह, सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खान, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दिपेन्द्र सिंखडा, संगीता सिलवाल लगायतका कलाकारको अभिनय छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

फिल्ममा राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । यस्तै, क्रियटिभ सिने आर्टस् प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्ममा नेम महर्जनको पनि लगानी छ । फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत छ ।

राज कुमार कार्की लाइन प्रोड्यूसर रहेको फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्