फिल्म । कोरोना महामारीपछि विश्वमा ओटीटी प्लेटफर्मको शक्तिशाली उदय भएको छ । हलिउड तथा बलिउडका ठुला स्टारका फिल्महरु हलमा भन्दा बढी ओटीटी रिलिजमा केन्द्रित हुन थालेका छन् भने ओटीटीबाट रेभेन्यु पनि फर्किरहेको छ । नेपालमा पनि ओटीटी प्लेटफर्म नभएका होइनन् तर, उतिसाह्रो फस्टाइसकेको छैन । यद्दपि विस्तारै बजार भने विस्तार भइरहेको छ ।
‘सिनेमाघर एप’ ले विस्तारै दर्शकलाई ओटीटीमा तान्ने काम गरिरहेको छ । निर्माता तथा निर्देशक अशोक शर्माले आफ्ना दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’लाई यूट्युबमा रिलिज नगरी ओटीटीमा रिलिज गरेका छन् । वडा दशैंको अवसर पारेर आइतबार फूलपातीबाट यी दुवै फिल्म दर्शकले हेरिरहेका छन् ।
निर्देशक शर्माले आफ्ना यि दुई फिल्म यूट्युबमा कहिल्यै नआउने बताए । अन्य देशमा जस्तै नेपालमा पनि ओटीटी प्लेटफर्म फस्टाउनु पर्छ भन्ने उद्देश्यले आफूले ‘जय भोले’ र ‘रातो टीका निधारमा’लाई ‘सिनेमाघर एप’मा रिलिज गरेको उनको भनाई छ । यूट्युबमा फिल्म रिलिज गर्दा हलमा गएर फिल्म हेर्ने कल्चर पनि बिग्रने भएकाले आफूले ओटीटी रोजेको शर्मा बताउँछन् ।
उनि भन्छन्,‘यूट्युब सुरक्षित पनि छैन । पाइरेसी पनि प्रशस्त मात्रामा हुन्छ । अनि अर्को कुरा हाम्रो रेभेन्युको हो । यूट्युबमा फिल्म दिँदा ९९ वर्षका लागि सम्पूर्ण अधिकार दिनुपर्छ । ९९ वर्षसम्म आफ्नो सम्पत्तिको आफूसँग अधिकार नै हुँदैन । अहिले प्रविधिको यति विकास भइरहेको छ कि विभिन्न अवसरहरु आउँछ । यूट्युबलाई फिल्म दिँदा ती अवसरहरु सबै गुम्छन् । साथै, नेपाली फिल्मको व्यापार हुने टेलिभिजन, अन्य अनलाइन प्लाटफर्महरु तथा अन्तराष्ट्रिय रुपमा हुने प्रदर्शनमा समेत यसले शत प्रतिशत घाटा दिएको छ । मैले अब बनाउने कुनै पनि फिल्म युट्यूबमा रिलिज गर्दिन ।’
large











