फिल्म । दसैँ नेपाली फिल्मको लागि राम्रो समय मानिन्छ । यसपटक दसैँलाई लक्षित गर्दै फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शन हुँदैछ । सफल फिल्म ‘पशुपति प्रसाद’ को कथा अगाडि बढाईएको फिल्ममा भष्मे डनको कथा भनिएको छ । उसको जीवनमा आएको परिवर्तन र परिकपक्कता मार्फत भनिएको कथामा अन्य पात्र पनि छन् । ‘पशुपति प्रसाद’ को मुख्य कथा भनिएको फिल्मबाट भष्मे डन र हनुमान पात्र दर्शकको प्रिय बनेका थिए ।
त्यसैले पनि दर्शक चाडपर्वको माहोलमा फिल्म हेर्न उत्साहित छन् । जहाँ सो खुलाईएको छ, त्यहाँ टिकेट विक्री भईरहेको छ । वितरक करण श्रेष्ठले फिल्मले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान गरे । ‘सो खुल्दै गर्दा दर्शकको देखिएको चाँपले हामीलाई उत्साहित बनाएको छ । केही सो ‘सोल्ड आउट’ समेत भएका छन् । अन्यमा दर्शकले टिकेट आक्रामक रुपमा खरिद गरिरहेका छन्’, वितरक श्रेष्ठले भने ।
फिल्म रिलिज हुन ६ दिन बाँकी रहेको अवस्थामा दर्शकको माग समेत फिल्मलाई लिएर उच्च रहेको प्रदर्शकहरुले बताएका छन् । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । निर्देशक दीपेन्द्र कुमार खनाल दर्शकको उत्साह र विश्वास घट्ने काम निर्माण पक्षबाट नभएको बताउछन् ।
‘दर्शकको प्रिय फिल्म भएकाले हामीले व्यावसायिकता मात्र हेरेर यसलाई तयार गरेका छैनौ । यसपटक अघिल्लो भागमा गर्न सकिएको कामहरूलाई गरेका छौं । प्राविधिक रुपमा समेत फिल्म अब्बल छ । यद्यपि भावना भने उही छ’, निर्देशक खनालले भने ।












