‘जारी’ ले पुरा गर्यो सय दिन

फिल्म । यसवर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत फिल्म ‘जारी’ ले सय दिन पुरा गरेको छ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको कवि तथा पटकथाकार उपेन्द्र सुब्बा निर्देशित फिल्मले काठमाडौँ उपत्यकामा रहेको क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पुरा गरेको हो ।

श्रीमती फिर्ता ल्याउन सङघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेकाछन् ।

चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए’, कार्यकारी निर्माता पोखरेलले भने,’सय दिन पुरा गरेको खुशियाली साटने भएता पनि सिक्वेल घोषणा गर्ने कुनै योजना छैन ।’

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘जारी’ को छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत रु १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले यहिँ फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।

कमेन्ट गर्नुहोस्