फिल्म । निर्देशक समाजको निर्वाचन सम्पन्न भएर तिन वर्षे कार्यकालको लागि नया कार्य समिति चयन भईसकेको छ । कुल २ सय १७ जना सदस्य रहेको संस्थामा खसेको मत भने १ सय ३५ मात्र रहेको छ । अर्थात ६५ प्रतिशतको हाराहारीमा मात्र भोट खसेको हो । त्यसमा पनि नयाँ पुस्ताका निर्देशकको रुपमा चिनिने निकै कम थिए । मिन बहादुर भाम , दीपेन्द्र लामा , दिनेश राउत , दीपेन्द्र के खनाल , सुदर्शन थापालाई छाड्ने हो भने नयाँ पुस्ताका निर्देशक लगभग थिएनन् । दर्शकले पछिल्लो समय चिन्ने उल्लेखित नाम बाहेक दीपाश्री निरौला , निश्चल बस्नेत , प्रदीप भट्टराई, असिम शाह, रामबाबु गुरुङ्ग लगायतको उपस्थिति नै थिएन ।
त्यसमा पनि निश्चल बस्नेत , प्रचण्डमान श्रेष्ठ लगायतले आफ्नो सदस्यता नवीकरण नै गरेनन् । अर्थात् निर्देशक समाजको निर्वाचन , यिनलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भयो । चिनिने निर्देशक कार्यसमितिमा नआउनु आफ्नो ठाउँमा छ तर , चुनावमै सहभागी नहुनु भने सोचनीय नै हो । यी निर्देशक त सहभागी भएनन् तर , सहभागी भएका मध्यबाट १७ मत बदर गयो । खसेको मत १ सय ३५ भएता पनि गणना १ सय ३४ मात्र भयो । किनकी एउटा मत पेपर मतदाता आफैले लिएर गए । खसेकोमा पनि १७ बदर भएपछि कार्यसमिति निर्वाचनका प्रमुख अधिकृत लक्ष्मीनाथ शर्मा भन्दै थिए ,’अब निर्देशकलाई मतदान गर्ने तालिम दिनु पर्छ ।’ बारम्बार मतदान बदर भएपछी उनले यस्तो भनेका हुन् ।
‘फिल्मका टिम क्याप्टेन आफैले मतदान गर्न सक्दैनन् भने तिनले फिल्म के गतिलो बनाउलान’ मत गणना स्थलमा कानेखुसी पनि भईरहेको थियो । शनिबार सम्पन्न चुनावी साधारणसभाले रक्षा सिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । चार जना प्रत्यासी रहँदा अध्यक्ष पदमा रक्षाले १ मतले बाजी मारिन् । निकतटम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष समेत रहेकी सुचित्रा श्रेष्ठले ४४ मत ल्याउँदा रक्षाले ४५ मत ल्याइन् । त्यस्तै लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ मत प्राप्त गरे । उपाध्यक्ष पदमा राजु अधिकारीले ५८ र राजेन्द्र उप्रेतीले ६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बिजयरन्त तुलाधरले ५७ मत ल्याउँदा १ मतले पछि परे । आरविके खत्री ‘शरद’ले २१ मतमा चित्त बुझाए । उता महासविच तर्फ जनकद्वीप पराजुली ६१ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी समिर बलामीले ४० मत ल्याउँदा दिनेश लिङ्देनले ११ मत ल्याए ।
सचिव पदमा अरुणकुमार प्रधान ५९ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी जनक खड्काले ३६ र विश्वमणी घिमिरेले १७ मत ल्याएका छन् । कोषाध्यक्षतर्फ समुन्द्र भट्ट निर्विरोध निर्वाचित भएकी छिन् भने सह- कोषाध्यक्षमा हरी शिलवाल निर्विरोध हुँदा बाँकी ६ सदस्य पनि निर्विरोध चयन भएका छन् । सदस्यतर्फ तीन बर्षे कार्यकालको लागी किशोर भण्डारी, दीपक वली, भिषण राई, राज बस्न्याल, नविन अर्याल र देवेन्द्र पाण्डे आउँदा मुख्य सहायक निर्देशक तर्फको दुई सदस्यमा सुरेश न्यौपाने र थमनसिंह पुर्जा चयन भएका छन् ।











