फिल्म । काठमाडौँ महानगरका मेयर बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाउनुका साथै तीन भित्र नसच्याएमा महानगर भित्र रहेका चलचित्र भवनमा हिन्दी चलचित्र चल्न नदिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाउने उल्लेख गरेका छन् ।
‘नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ”, मेयर शाहले उल्लेख गरेकाछन् ।
महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यस सम्बन्धी पूर्ण जानकारी नभएको बताए । ‘म आज विभिन्न काममा व्यस्त थिएँ । हाललाई म सँग अन्य जानकारी छैन्’,उनले भने ।
दिउँसो मात्र केन्द्रीय चलचित्र जाँच समितिले उक्त संवादमा आपत्ति जनाउँदै आवाजरहित (बीप) बनाउन निर्देशन दिएको थियो । यद्यपि मेयर शाहले नेपालमात्र नभई भारतीय संस्करणमै नसच्चिएसम्म महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका हुन् ।










