फिल्म। उठान गरिएको विषयका कारण चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ को विशेष प्रदर्शनी बुटवलमा गरिएको छ। चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा बुटवलस्थित द्वारिका सिनेमा हलमा गरिएको विशेष प्रदर्शनीमा नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गरेको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम/बाल शोषण) सँग सम्बन्धित रहेको जानकारी दिए ।
सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ । ‘यो कुसंस्कारका विषयमा चलचित्र बनेको थाहा पाइनँ । बलिउड र हलिउड जस्ता ठूला उद्योगले यसलाई नसमेटेका कारण विषयबारे ज्ञान नभएको हो कि जस्तो लाग्यो’, निर्देशक भुसालले भन्नुभयो, ‘यसबारे गहिरो अनुसन्धानपछि चलचित्र निर्माण र निर्देशन गरेको हुँ । अध्ययन गर्ने क्रममा यसबारे धेरै घटनाक्रमसँग साक्षात्कार हुन पाएँ । नेपालमा समेत यसखालको कुरीति रहेको हुन सक्छ । हामीले अध्ययन गर्नु जरुरी छ ।’
फिल्ममा अभिनय गरेका स्थानिय कलाकार समेत सहभागी रहेको प्रदर्शनीमा सहभागीले सकारात्मक प्रतिक्रिया दिए। निर्देशकसँगै लेखक र निर्मातासमेत आफैँ रहेको भुसालले काठमाडौंमा फिल्मसँग जोडिएको नेपाली कलाकार तथा प्राविधिकका लागि समेत प्रदर्शनी गरेका थिए। अङ्ग्रेजी भाषामा रहेको फिल्मलाई नेपालका फिल्मकर्मीलाई देखाउने उनको योजना छ । बेलायत, भारत र नेपालका विभिन्न स्थानमा छायांकन गरिएको ‘क्रस्ड विङ्स’ को कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिका रियाको दुर्भाग्यपूर्ण जीवन यात्रा वरपर घुम्छ । उनी सात वर्षकी हुँदा कुरीतिको सिकार हुन्छिन् । रिया जस्ता अनेकौँ देशका पीडित बालिकाको तीतो भोगाइमा आधारित चलचित्रको कथाले बाल शोषणको वास्तविकता र यसले पार्ने शारीरिकका साथै मानसिक असर उजागर गरेको छ ।
यसमा रोशिनी भण्डारी, तानिया स्टेट, भाष्कर पटेल, जितेन्दर सुमन, निसारो करिम, नोमाना रोज, गोमा पाण्डे, परिक्षित विक्रम राणा, प्रदीप ढकाल, कमल देवकोटा, लिजा ब्लिस्सिट, हिबो वार्डेर, मन्सुर वाजिद अभिनय रहेको छ । यो फिल्म ५० बढी अन्तर्राष्ट्रिय महोत्सवमा आधिकारिक छनोट भई विभिन्न विधामा पुरस्कृत भएको छ ।
फिल्मले पेरिसमा आयोजित इन्टरनेसनल चिल्ड्रेन केयर फिल्म फेस्टिभल २०२२ मा अडियन्स अवार्ड, एडोल्फ जुकोर इन्टरनेसनल फिल्म फेस्टिभल हङ्गेरी २०२२ मा अडियन्स अवार्ड, द ग्लेडिएटर फिल्म फेस्टिभल इस्तानबुल टर्की २०२१ मा वेस्ट ड्रामा चलचित्र अवार्ड, सान डिएगो मुभी अवार्ड्स अमेरिका २०२२ मा बेस्ट फिचर चलचित्र, ब्रिज फेस्ट भ्यानकोभर क्यानडा २०२१ मा बेस्ट चलचित्र अवार्ड, गोल्डेन हार्भेस्ट फिल्म फेस्टिभल जापान २०२१ मा बेस्ट फिचर चलचित्र अवार्ड, ग्लोबल इन्डी फिल्म फेस्टिभल स्कटल्यान्ड यूके २०२२ मा ब्रोन्ज अवार्ड, ड्रामाटिका फिल्म फेस्टिभल बार्सिलोना स्पेन २०२१ मा बेस्ट ड्रामा चलचित्र अवार्डलगायत विभिन्न विधामा पुरस्कार पाइसकेको छ ।










