फिल्म। केही समय यता फिल्म निर्माणमा लागत बढेको भएता पनि त्यसको तुलनामा बजारमा व्यापार कम भएको तथ्याङ्क छ। निर्माणमा लागत बढिरहेको सन्दर्भमा केही निर्माताले फिल्म निर्माणनै रोक्नेसम्मको सोच बनाएका छन्। निर्माणमा प्रयोग हुने प्राविधिकले पनि नेपाल सरकारले तय गरेको भन्दा बढी पारिश्रमिक लिने गरेका छन्।
यद्दपी फिल्म निर्माण लागत बढ्नुमा प्राविधिक कारण नरहेको नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए। उनले सरकारमार्फत तय गरिएको दैनिक ज्याला वैज्ञानिक नभएकोले नै निर्माताले सम्झौता गरेर दिने गरेको जानकारी दिए। ‘निर्माणको लागत बढ्नुमा प्राविधिकभन्दा अन्य पक्ष सक्रिय छन् । फिल्म निर्माणलाई रहरको रूपमा नभई गम्भीरतापुर्वक लिनुपर्छ’, अध्यक्ष लामाले भने,’हामी वैशाखबाट लागु हुनेगरी न्यूनतम ज्याला तोक्दैछौँ। विदेशी चलन आठ घण्टाको शिफ्ट हुने भएता पनि हामी बाह्र घण्टाको बनाउने छौँ। हामीले विदेशी फिल्मको हकमा ६५ प्रतिशत नेपाली प्राविधिक रहने नीति ल्याउदै छौँ।’
उनले निर्मातालाई सङ्घको सदस्यसँग मात्र काम गर्न पनि आग्रह गरेका छन्। फिल्म निर्माणको क्रममा देखिने समस्यालाई सङ्घको सदस्यता लिएका सदस्य भए मात्र समाधान गर्ने अधिकार रहने समेत अध्यक्ष लामाले प्रस्ट्याए। वैशाखदेखि लागु हुने गरी ल्याइने प्रावधान भने सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरेर मात्र तय गरिने अध्यक्ष लामाले जानकारी दिए।












