फिल्म। चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा संचालित कार्यशालामा काठमाडौँ र मोफसलमा रहेको शाखाबाट सय बढी पत्रकारले सहभागीता जनाएका थिए । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा संचालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, बिकास रौनियार, के.पि. ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले क्रमश: पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्च सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राईम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्व लगायतका शिर्षकहरुमा कक्षा संचालक भएका थिए ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्वबारे चर्चा गरे । ‘अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्’, उनले भने,’यस्ता कार्यशालाले स्वनियमन गर्न मदत गर्छ ।’ लेखक तथा निर्देशक प्रकाश सायमीले फिल्मको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न बुझ्नु आवश्यक रहेको बताए । ‘कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ’, उनले भने ।
फोटोपत्रकार बिकास रौनियारले फिल्म पत्रकारितामा फोटोको प्रमुख भुमिका रहने बताउँदै यसका आधारभुत मापदण्डहरु पालना गर्नुपर्ने बताए । छायाँकार विष्णु घिमिरेले भिडियोको भाषा र यसको बुझाईबारे प्रष्ट पारेका थिए । पत्रकार के.पि. ढुंगानाले पत्रकार हुँ भन्दैमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्ने सबैले कारबाहीको भागिदार बन्नुपर्ने बताए । पत्रकार नरेश भट्टराईले प्रस्तोताहरु पनि पत्रकार नै भएको बताउँदै यसको स्कोपका बारे चर्चा गरे । पत्रकारहरु शान्तिप्रिय, बिदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले कला विधाको पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकारहरु महत्वपूर्ण अंग रहेको बताउँदै नीतिगत रुपमा नै राज्यले विभिन्न सहयोगहरु गर्ने बताए । ‘आगामी दिनहरुमा पनि यस प्रकारका कार्यक्रमहरुको अपेक्षा राखेको छु र सहकार्यको लागि बोर्ड सदैव तयार छ’, बोर्ड अध्यक्ष केसीले भने ।
संघका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुराहरुले पत्रकारिताको कर्म गर्न सहयोगी भूमिका खेल्ने बिश्वास लिएको बताए । ‘सिकाईको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो । हामीले छोटो अवधिमा पनि सकेसम्म धेरै बिषयमा ज्ञान र सिप प्राप्ती होस् भन्ने उद्देश्य राखेका थियौँ, जसमा हामी सफल रहेका छौँ’, सिटौलाले भने, ‘संघको सैद्दान्तिक मुल्य मान्यतालाई आत्मसात गर्दै र डिजिटल प्रविधिको भरपुर प्रयोगमा अबको पत्रकारिता अघि बढ्छ भन्ने बिश्वास लिएका छौँ ।’












