फिल्म। कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ टिमले देउसी भैलो खेलेको छ । शनिवार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकार समेत रहेका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ उपस्थित थिएँ । टिम बाहेक कलाकार जीतु नेपाल, कृष्ण कडेल, राजा राजेन्द्र लगायत उपस्थित थिएँ ।
देउसी भैलोमा सार्वजनिक मंचबाट शुभकामना दिदै अभिनेता आचार्यले आउँदो मङ्सिर ४ मा आफ्नो नीति निर्माणसँगै क्षेत्रको विकास गर्ने महापुरूषहरू पठाउन अनुरोध गरे । ‘यो संसद भवनमा हाम्रो भावना बुझ्ने महापुरूषहरूलाई पठाउने दायित्व तपाइँको छ । भावीपुस्तालाई समेत हुने महापुरूषहरू छान्नु होला । त्यो अगाडी तपाइलाई पूर्ण मनोरंजन दिन हामी फिल्म महापुरूष कात्तिक ११ गते ल्याउदै छौँ’, अभिनेता आचार्यले भने । उनले जनताको भावनाको कदर गर्ननसक्नेहरू सकिदै गैरहेको तर्कसमेत गरे ।
‘हामीले नयाँ केही गर्न लाग्दा भगवानलाई पुजा गरेर चढाउने गरेका छौँ । अहिले महापुरूष पनि भगवानरुपी दर्शक समक्ष ल्याउदै छौँ । हामीले यसमा एउटा संदेश पनि प्रावाह गर्न खोजेका छौँ । दर्शकले त्यसलाई अनुमोधन गर्नुहुनेछ भन्नेमा विश्वत छु’, अभिनेता आचार्यले भने । लेखक समेत रहेका निर्देशक प्रदीप भट्टराईले महापुरूषले एक्लोपनको कथा भन्ने बताए । ‘हामीले हाम्रो सामाजमा गाडिएको गम्भीर विषयलाई फिल्मी शैलीमा सरल प्रस्तुति मार्फत देखाउदै छौँ । हलबाट निस्किएपछि समेत दर्शकसँगै फिल्म रहनेछ भन्ने मलाई विश्वास छ’, निर्देशक भट्टराईले भने । उपस्थित कलाकार जीतु नेपालले फिल्म सफलताको शुभकामना दिए । उनले दर्शकले माया दिएर बनाएको महापुरूषद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरूष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
यसैफिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराईली डेब्यु गर्दैछन् । बाल्यकालदेखी नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेकाछन् । फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।











