फिल्म । गत असोज २१ गतेबाट प्रदर्शनरत फिल्म ’दुई नम्बरी’ प्रदर्शनको तेस्रो सातामा सम्पादन गरेरप्रदर्शन गरेको प्रति चलचित्र विकास बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । फिल्मका निर्माता किरण नेपालीलाई बोर्डको तर्फबाट सदस्यसचिव महेश पराजुलीले पत्राचार गर्दै समाचारमा आए जस्तो दृश्य काँटछाँट गरिएको हो वा होइन भन्ने स्पष्ट पार्न दुई दिनको समय दिएको जनाएका छन्।
‘समाचारहरूमा निर्माता नेपालीलाई आधार बनाएर सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरिएको उल्लेख छ । त्यससम्बन्धि हामीले पत्राचार गर्दै सोधेका हौँ’, सदस्य सचिव पराजुलीले भने । उल्लेखित तथ्यहरू साचो सावित भएमा वैठक बसेर छलफल गरेर निर्णय लिने उनले बताए । ‘समाचारमा आए झैँ फिल्ममा परिवर्तन गरिएको भएमा हामी छलफल गरेर निर्णय लिन्छौँ । जरिवाना गराउने कि पुनः सेन्सर गराएर प्रदर्शन गर्न दिने विषयमा निर्णय लिनेछौँ’, सदस्य सचिव पराजुलीले भने ।
निर्माता नेपालीले आफू उपस्थित भएर जवाफ दिन तयार रहेको बताए । ‘हामीले दृश्य थपेका छैनौँ । केही घटाएका हौँ । म तोकिएको समय भित्र उपस्थित रहेर आफ्नो कुरा राख्ने छु’, निर्माता नेपालीले भने । बिहीबार निर्माताले दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई पुनः सम्पादनसहित रिलिज गरिएको जानकारी दिएपछि बोर्डको ध्यानाकर्षण भएको हो । दीपेन्द्र लामा निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारले अभिनय गरेकाछन् ।












