फिल्म । आगामी माघ १६ गतेबाट रिलिज हुने मिति घोषणा गर्दै ‘आ बाट आमा’ फिल्म टिमले दुई फरक पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई पोस्टर सार्वजनिक गरेको हो । फिल्मको पोस्टरमा ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने भावुक स्लोगन राखिएको छ। यस शब्दले आमाबुबा र सन्तानबीचको भावनात्मक तथा बाध्यताको कथालाई प्रस्तुत गर्ने सङ्केत गर्छ ।
सार्वजनिक भएको एउटा पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त र साइग्रेस पोखरेल खुसी मुन्द्रामा देखिएका छन् । तर, अर्को पोस्टरमा भने सबै कलाकार भावुक र गम्भीर देखिएका छन् । श्रीमान्–श्रीमतीको भूमिकामा रहेका विपना र प्रदीप अङ्गालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य अवस्थामा छन् ।
ग्रामीण परिवेशमा आधारित यो फिल्मले आमाबुबा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । निर्देशक पन्तकै लेखन र पटकथामा निर्माण भएको यो फिल्ममा आर्या पन्तको प्रस्तुति रहेको छ । फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ।
ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना यस फिल्मका निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्मको डिओपी (छायाङ्कन) नवराज उप्रेतीले गरेका छन् । फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको संगीत छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको विदेश प्रदर्शन अधिकार केही देशहरूमा बिक्री भइसकेको छ । हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शनको अधिकार लिइसकेको छ । आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलको छ।










