फिल्म । स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा रहेर तयार गरिएको सोही नामको फिल्म शुक्रबारबाट प्रदर्शन हुँदैछ । आधुनिकता तर्फ उन्मुख समाजमा निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले प्राचीन नेपाली समाजको कथा लिएर आएका छन् । केहि वर्षको विश्राम पश्चात निर्माण तथा निर्देशनमा कमब्याक गरेका निर्देशक देउजा यसलाई ‘एभरग्रीन कथा’ भन्न रुचाउछन् । ‘यसलाई फिल्मको पर्दामा ल्याउने मेरो वर्षौं अगाडीको योजना हो । अहिले बल्ल आउँदैछ’ निर्देशक देउजा भन्छन् ,’फिल्मकै लागि लेखिएको कृति जस्तो लाग्छ । किनकी यो फन्नी छ , यसमा ड्रामा छ , सामाजिक संदेश छ । मैले निर्देशकको आँखाले यसमा फिल्मलाई चाहिने सम्पूर्ण पक्ष पाए ।’
नेपाली फिल्म र बजारको नाफा र जोखिमलाई नजिकबाट बुझेका निर्देशक देउजाले यसपटक डिजिटल प्रविधिमा काम गरेका छन् । ‘मैले धेरै वर्ष पश्चात काम गर्दा प्रविधिसँग पनि साक्षात्कार गर्न पाए । मैले आफूलाई अपग्रेड गर्ने कोसिश गरेको छु’ उनले भने । फिल्म देउरानी–जेठानीको झगडामा केन्द्रित रहेको अनुमान सार्वजनिक ट्रेलर मार्फत गर्न सकिन्छ । ‘फिल्मको कथा पुरानो देखिएको होला तर अहिले पनि मानवीय स्वभाव त्यहिँ हो । किनकी हाम्रो इमोसन उही हो । त्यो फेरिएको छैन। यो फिल्मले पनि हाम्रा यस्तै मानवीय स्वभावले निम्त्याउने परिस्थितिको निर्माण गर्छ’ अभिनेत्री केकी अधिकारीले भनिन् ।
यो फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानी बनेका छन् । आँचलले केकी अधिकारीसँग काम गर्दा धेरै कुरा सिकेको बताउँदै उनले यो फिल्मबाट कलाकारको रुपमा आफूलाई थप फाइदा हुने बताउँछिन् । ‘म यसअगाडीको फिल्ममा हिरोइनकै रुपमा देखिए । यसमा मैले क्यारेक्टरलाई हावी गर्ने कोसिश गरेकी छु’ आँचलले भनिन् । ‘अभिनयमा पनि नयाँ कुरा गर्ने कोशिस गरेको छु । त्यसैले यसलाई मैले नयाँ आँचलको जन्मको रुपमा पनि अर्थ्याउदै आएकी छु,’ उनको भनाइ थियो ।
फिल्मले देउरानी–जेठानीले झिंगे दाउ खेल्ने क्रममा उत्पन्न हुने परिस्थितिका कथा बयान गर्छ । पुरानो समयमा सिक्का राखेर यो दाउ खेलिन्थ्यो र जुन सिक्कामा आएर झिंगा बस्छ त्यो खेल्नेको हुने प्रचलन थियो । त्यहिँ इभेन्टले आउँदो समयमा निर्माण गर्ने घटनाक्रम फिल्ममा देखाइएको छ ।
कलाकार मुकुन भुसालले फिल्मले २० को दशकको नेपालसँगै सामाजिक सम्बन्धलाई फिल्मले मनोरञ्जनक हिसाबले वाचन गरेको बताउँछन् । यो फिल्मले आमा र दुई दाजुभाइको कथा पनि पेश गर्छ । फिल्ममा कुशल बिष्ट भाइ बनेका छन् । फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का र अभय बरालको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा पटकथा प्रदीप भारद्वाजको रहेको छ । फिल्म भदौ १७ गतेबाट प्रदर्शनमा आउदैछ ।











