फिल्म । आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुँदैछ । विदेशमा रहेका दर्शकहरुले पनि एकसाथ फिल्म हेर्न पाउने छन् । यसका लागि ‘प्रकाश’ युनिटले केहि समय यता नै तयारी गरिरहेको थियो । नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्मको शो समय र संख्या सार्वजनिक भएका छन् । ‘प्रकाश’ लाई युएई, ओमान, बहराइन कतारलगायतका देशहरुका मल्टिप्लेक्समा हेर्न पाइने छ ।
नोभा सिनेमाले यएईमा फिल्मलाई दैनिक १९ शो सम्म उपलब्ध गराएको छ । नोभा नेटवर्क अन्तर्गतका विभिन्न ६ वटा हलहरुमा शुक्रबार देखि बुधबारसम्मको लागि सो संख्या र समय सार्वजनिक भएको हो । साथै, ओमन र कतारमा पनि नोभा सिनेमाले उत्तिकै संख्यामा शो उपलब्ध गराउको छ भने बहराइनमा रहेको नोभा सिनेमाले दैनिक दुई शो उपलब्ध गराएको छ । विदेशी फिल्मकै शैलीमा मल्टिप्लेक्समा शो संख्या उपलब्ध भएको फिल्म ‘प्रकाश’ का निर्माता महेन्द्र अधिकारीले बताए ।
युएइको स्टार सिनेमाले ‘प्रकाश’को लागि दुई शो दिएको छ भने आबुधाबी नेशनल सिनेमाले पनि दुई शो दिएको छ । यता भक्स सिनेमाले शुक्रबार देखि बुधबार सम्म २ शो दिएको छ । भक्स सिनेमाले सिटि सेन्टर दैरा र सिटि सेन्टर सिन्दघामा दैनिक दुई–दुई शो उपलब्ध गराएको छ । यस्तै ओस्कर सिनेमाले पनि शुक्रबार बाट बुधबार सम्मका लागि शो सार्वजनिक गरेको छ । आबु धाबीमा रहेको ओसकर सिनेमाले दैनिक दुई शो उपलब्ध गराएको हो ।
यस्तै , फिल्म युनाइटेड स्टेट अफ अमेरिकामा पनि रेगुलर शोमै प्रदर्शन हुँदैछ । नेपाल झैँ विदेशी मल्टिप्लेक्समा शो आउट गरेर रेगुलर प्रदर्शनमा आउने भएपछि निर्माता अधिकारी दंग छन् । ‘नेपाली फिल्मको बजार विस्तारमा यस किसिमको गतिविधिले फाइदा पुर्याउने आश छ । फिल्म रेगुलर शोमा हलमै हेर्दा क्वालिटी पनि देखिन्छ’ उनले भने । दिनेश राउतको निर्देशनमा तयार फिल्ममा शिर्ष भूमिकामा प्रदीप खड्का छन् ।
मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।











