फिल्म । सुदर्शन थापाको डेब्यु लभस्टोरी फिल्म ‘मेरो एउटा साथी छ’ मार्फत भयो । कागबेनी , सानो संसार दर्शक माँझ पुगिसक्दा उनी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर दर्शक माँझ आए । डिजिटल प्रविधिमा बनेको फिल्मले दर्शकको मन जित्यो । संगीत , कोरियोग्राफी , सिनेम्याटोग्राफी लगायतका पक्ष त्यसबेला आइरहेका रेगुलर फिल्म भन्दा फरक थिए । त्यसपछि सुदर्शन नयाँ पुस्ताको लभ स्टोरी देखाउने निर्देशकका रुपमा चिनिए । उनको दोस्रो फिल्म के हुन्छ ? भनेर दर्शक मात्र नभई मिडियाले प्रतीक्षा गरे । त्यसपछि के यो माया हो , मेरो लभ स्टोरी , धन्दा , मधुमास , चंखे शंखे पंखे , प्रेम गीत , मा यस्तो गीत गाउँछु सिरिजको निर्देशन गरेका निर्देशक थापा निर्देशित नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ आउँदो भदौ १७ मा प्रदर्शन हुँदैछ ।
कोरोना भाइरसको महामारीका कारण फिल्मको रिलिजमा केहि ढिलाई भएको हो । फिल्ममा आकाश श्रेष्ठ , पूजा शर्मा र डेब्यु ब्वाई सोनाम तोप्देन सेन्ट्रल भूमिकामा छन् । सुगम पोखरेलले गाएको गीत ‘सम्हालिन्छ कहिले मन’ कै शब्दलाई लिएर निर्माण गरिएको फिल्मले यो नामलाइ अझै अगाडी बढाउने निर्देशक थापाले बताए । त्यसो त निर्देशक थापाले सुगमकै गीतबाट मेरो एउटा साथी छ , के यो माया हो जस्ता फिल्म बनाइसकेका छन् ।
‘फिल्मलाई ठूलो क्यान्भासमा खिचिएको छ । त्यसमाथि गायक सुगम पोखरेल आफैं हाम्रो फिल्मसँग जोडिनुभएकाले पनि मानिसहरुको अपेक्षा धेरै हुन गएको छ । उहाँहरुलाई भन्न चाहन्छु, त्यो ब्रान्ड अझै धेरैमाझ पुग्नेछ’ निर्देशक थापाले भने । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । ‘फिल्म भनेको स्टोरीमात्रै होइन । स्टोरीलाई गरिने भिजुअल प्रेजेन्टेशन हो’ निर्देशक थापा भन्छन् ,’ फिल्ममा डायस्पोराको लभ स्टोरी देखाएका छौँ । फिल्मले दर्शकको आँखालाई शितलता पनि दिनेछ ।’ फिल्ममा सरोज खनाल, धीरेन शाक्य, गौरी मल्ल कलाकारहरु पनि छन् । यसको ९५ प्रतिशत छायांकन बेलायतको रमणीय दृश्यमा गरिएको छ ।
फिल्म मार्फत सोनामले डेब्यु गर्दैछन् । निर्देशक थापाले कथा अनुसार नै सोनामको कास्टिङ भएको बताए । ‘हाम्रो कथाले सोनाम जस्तै कलाकार मागेको थियो । हामीले कुनै सम्झौता गर्न चाहेनौं’ निर्देशक थापाले भने । सार्वजनिक ट्रेलर र गीतहरु रिलिज भएसँगै आएको प्रतिक्रियाहरुले उनी उत्साहित छन् । फिल्मको छायांकन बेलायतमा गर्दा विभिन्न कठिनाइलाई झेल्दै दर्शकलाई भव्य लोकेसन देखाउने प्रयाश टिम सहित आफूले गरेको उनले बताए । ‘हराँए हराएँ’ बोलको गीतमा देखिएको लोकेसनले चर्चा पाएपछि उनले पर्दा पछाडीको कथालाई भन्न चाहे ।
‘त्यो गीत सुटिङ गर्दाको समय स्कटल्यान्डको तापक्रम माइनसमा थियो । जाडोले मुटु नै थर्थर काप्यों । त्यसमाथि ४०–५० किलोमिटरको रफ्तारमा हावा चल्थ्यों । त्यतिबेला पातलो पहिरन लगाएर पहाडमा रोमान्टिक सिन दिन कलाकारलाई कति गाह्रो भयो होला । तर, यो पर्दाबाहिरको मेरो व्यक्तिगत अनुभवको कुरा भयो । भिडियोमा त्यस्तो केही महसुस भएको देखिन्न किनकी उहाँहरु आफ्नो काम शतप्रतिशत दिनुभएको छ’ उनले भने ।
उनि अब दर्शकलाई मेकिङमै स्तरीयता महसुश हुने फिल्महरु तयार गर्नु पर्ने बताउछन् । ‘हाम्रो बजारबाटै आरआरआर, पुष्पा, केजिएफलगायत दक्षिण भारतीय फिल्मले ठूलो रकम लिएर गएका छन्, कन्टेन्ट त हाम्रा फिल्मको पनि कमजोर होइन । तर हामी मेकिङ पक्षमा चुकेकाले दर्शक तान्न सकेनौं । अहिलेका मल्टिप्लेक्स हल पहिलेका सिंगल थियटरको दाँजोमा निकै स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले फिल्म मेकिङ गर्नुको विकल्प छैन’ निर्देशक थापाले भने ।
निर्देशक थापाले बेलायतमा अनुमति लिएर खिचिएको संवत पहिलो नेपाली फिल्म रहेको समेत बताए । ‘अनुमति नलिई खिच्दा हामीले भव्यतालाई देखाउन सक्दैनौ । त्यसैले हामीले मेकिङमा सम्झौता नगरेका हौँ । हामी फिल्मलाई बेलायतमा खिचेको क्यामेराबाट महसुश गराउन चाहन्थ्यौ । अझैँ फिल्ममा त दर्शकहरु सामान्य रुपमा नपुग्ने दृश्य देखिनुपर्छ भन्ने मान्यता छ’ उनले भने ।
उनी फिल्मलाई निर्देशकको दृश्य परिकल्पना भन्छन् । ‘स्क्रिप्ट पढ्नका लागि लेखिएको हो अर्थात् साहित्यकै स्वरुप हो । त्यो जब फिल्म बन्छ, तब त्यो हेर्नका लागि बनाइन्छ । त्यहाँ कन्टेन्ट, लोकेशन, सिनेमाटोग्राफी, साउन्डलगायत सबै पक्ष पर्छन् । हामीले कन्टेन्टमात्रै भनिरहदाँ मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको कुनै अर्थ रहदैँन’ निर्देशक थापाले भने ।










