फिल्म । आमिर खानको प्रतिक्षित फिल्म मध्येको एक थियो ‘लाल सिंह चड्डा’ । हलिउड फिल्म ‘फरेस्ट गम्प’ को अफिसियल रिमेक यो फिल्म निर्माण घोषणा देखि नै देखिएको असन्तुष्टीले नै फिल्मलाई असफल बनाएको छ । टम ह्यांक्स अभिनित क्लासिक फिल्म ‘फरेस्ट गम्प’ लाई हिन्दी शैलीमा बनाउन खोज्दा आमिर असफल भएका हुन् । उनले आफ्नो प्रिय हिरो टम ह्यांक्सको जस्तो अभिनय गर्न खोज्दा दर्शक हलसम्म पुगेनन् । पुगेका अधिकाँसले फिल्मलाई ‘झुर’ भने ।
फिल्मको शोहरु हलबाट कटौती भइरहेका छन् । ५० करोड भन्दा माथि ओप्निङ गर्ने आमिरको फिल्मले यसपटक १२ करोडको आसपासमा ओप्निङ गरेको छ । अर्थात् फिल्मले आमिरको स्टारडम सकिएको संकेत गरेको छ । उनको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हेर्न हलसम्म दर्शक पुगेता पनि यसपटक त्यस्तो पाइएन । फिल्मको बक्सअफिसले पनि यसलाई प्रस्ट्याएको छ । साथै , फिल्मले फिल्म रेटिङ साइट आइएमडीबीमा कम स्कोर पाएको छ । यसको रेटिङलाई सजिलै तलमाथि गर्न सकिन्छ त्यसका बावजुद पनि फिल्मले पाएको रेटिङले धेरैलाई चकित पारेको छ । बिहीबार विश्वभर रिलिज भएको फिल्मले १० मा जम्मा ४.२ रेटिङ पाएको छ ।
फिल्मले दोस्रो दिनसम्ममा ५२ हजार भोट पाएको छ जसमा १३ हजारले फिल्मलाई ५ स्टार दिएका छन् भने ३३ हजारले जम्मा १ स्टार । यो संख्यालाई लैंगिकताका आधारमा हेर्दा महिलाभन्दा पुरुष फिल्मप्रति असहिष्णु देखिएको समाचारमा जनाइएको छ । पुरुषले औसतमा फिल्मलाई ३.३ प्रतिशत भोट दिएका छन् भने महिलाले ४.२ । यसमा पनि ४२ वर्षमाथिका पुरुष फिल्मप्रति थप रुष्ट देखिएको विश्लेषणले देखाएको छ । फिल्मलाई नेपालमा पनि रुचाइएको छैन । हल खाली छन् भने हेर्न पुगेकाले पनि फिल्म नहेर्न सिफारिस गरिरहेका छन् ।











