‘अटिजम पिडितलाई माया गरौँ , बुझौँ’

फिल्म । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएका अभिनेता हुन् पुष्प खड्का । भिडियोमा रोजाईमा पर्ने पुष्पले आफ्नो अभिनयको बलमा दर्शक कमाएका छन् । पछिल्लो केहि फिल्महरु मार्फत अभिनय क्षमतालाई प्रस्ट्याईसकेका पुष्प अभिनय गर्न सक्ने चकलेटी हिरोको रुपमा स्थापित हुँदैछन् । अहिले स्टार भनिने अनमोल केसी र प्रदीप खड्का क्यारेक्टर प्रधान फिल्म तर्फ आकर्षित भइरहदा पुष्पले ‘मंगलम’ जस्तो फिल्म मार्फत आफ्नो अभिनय देखाईसकेका छन् ।

चुनौतीपूर्ण भूमिकालाई सहजै स्वीकार्ने पुष्पको रिलिजको क्रममा रहेको फिल्म हो ,’कृष्ण-लीला’ । पात्रमा डुब्नका लागि आफूलाई घन्टौ सोही पात्रको मनोभावसँग खेलाउँने पुष्प फिल्म ‘कृष्ण -लीला’ मा अटिजम पीडित यूवाको भूमिकामा देखिदैछन् । अर्थात् बिस्तारै बोल्ने, अस्वभाविक हाँस्ने लगायत अटिजमको लक्षण हुन् । पुष्पले फिल्ममा काम गर्ने तय भएपछि यसको स्टडी समेत गरे । लिलासँग कृष्णको प्रेम र अटिजमका कारण समाजले ती यूवालाई गर्ने व्यवहारको वरिपरी कथावस्तु घुमेकै कारण उनले अटिजम भएको एक व्यक्तिलाई भेटे ।

उमेरमा पुष्प भन्दा साना ती व्यक्तिलाई उनले सहजै भेटेका भने होइनन् । ती व्यक्तिका वुवा आमाले भेट्न दिन नमानेता पनि पुष्पको प्रयाशले भेट तय भयो । ‘मैले ती भाइलाई २ घन्टामा घरमै ल्यादिने भनेर बाबु आमालाई विश्वस्त तुल्याएपछि बल्ल भाइसँग गफ गर्ने मौका पाएँ ।’ पुष्पले ती व्यक्तिको हाउभाउलाई नजिकबाट नियाले, केही भिडियोहरु पनि खिचे । पछि ती भिडियोहरु छायांकनका क्रममा काम लागेको उनको भनाई छ । यो फिल्मका लागि पुष्पले आशान्त शर्मासँग १५ दिनको अभिनय तालिम समेत लिएका थिए । फिल्ममा बच्चा जस्तो व्यवहार देखाउनुपर्ने भएकाले पुष्पले ४ बर्षकी आफ्नी भान्जीसँग पनि समय बिताएका थिए ।

पुष्पको दिमागमा अटिजमलाई लिएर धेरै कुरा खेल्न थालेका थिए । उनी भन्छन्–‘हाम्रो समाजमा यस्तो समस्या भएका व्यक्तिहरुलाई हेप्ने गरिन्छ, विश्वास गरिदैन । कतिपयले त मजाक समेत उडाउने गर्छन् । तर, यस्ता पात्रहरुलाई माया गर्नुपर्छ । उनीहरुलाई उनीहरुकै शैलीमा काम गर्न दिनुपर्छ । उनीहरुलाई यो संसारमा सम्मानका साथ बाँच्न दिनुपर्छ ।’ छायांकनको क्रममा अटिजम बाचेका पुष्प भन्छन् ,’मेरो अभिनय हेरेर दर्शकले अटिजमबारे २० प्रतिशतमात्रै पनि वुझ्नु भयो भने म सफल भएको मान्नेछु ।’

आउँदो भदौ ३ गते कृष्ण जन्माष्टमीका दिनबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्णलीला’ मा पुष्पसँगै नवनायिका श्रद्धा क्षेत्री , बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मी , आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाइँ मुख्य भूमिकामा छन् । दीपक ओलीको निर्देशनमा तयार फिल्ममा पुष्पले कृष्णको शीर्ष भूमिका र श्रद्धाले लीलाको भूमिका निर्वाह गरेकी छिन्। ‘कृष्ण लीला’ को यसअघिको ‘ए मेरो हजुर’,‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘डिएर बन्न मन छ मलाई’ श्रोता दर्शकले मन पराएका छन्।

फिल्मलाई निर्देशक समेत रहेका रंग पत्रकार लक्ष्मण सुवेदीले लेखेका हुन् । फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

कमेन्ट गर्नुहोस्