फिल्म । पछिल्लो समय फिल्मको रिलिज डेट भिडियो मार्फत घोषणा गर्न थालिएको छ । केहि अगाडीसम्म पोस्टर मार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियो मार्फत घोषणा गरेको हो । फिल्मसँग जोडिएका विभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा भिडियो मार्फत गरिएको हो । निर्माण टिमले सार्वजनिक गरेको भिडियो एनाउन्समेन्टमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छविराज ओझा, दिपेन्द्र के. खनाललगायतका व्यक्तिहरुले शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका छन् ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।












