फिल्म । एक महिनादेखि बन्द रहेका कास्की जिल्लाका फिल्म हलहरु शनिबारबाट खुल्ने भएका छन् । शनिबारदेखि खुला गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार आदेश जारी गर्दै कोरोनाभाइरसको तेस्रो लहरले बन्द हलसहित रात्रीकालिन व्यवसायलाई खुलाउन अनुमति दिएको हो ।
गत फागुन १ गते जारी गरिएको नयाँ आदेशमा हल खोल्ने अनुमति जिल्ला प्रशासन कार्यलय, कास्कीले दिएको थिएन । तर शुक्रबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आदेश जारी गर्दै जिल्लामा कोरोनाभाइरसको संक्रमणदरमा कमी आएपछि हलसहितका क्षेत्र खुलाउन अनुमति दिएको जनाएका छन् ।
फिल्मका लागि दोस्रो ठूलो बजार मानिने पोखरामा फिल्म हल खुल्ने भएपछि फिल्मकर्मी उत्साहित छन् । कास्की जिल्ला प्रशासनले फिल्म हलसहित हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके, ब्यूटीपार्लर लगायतका क्षेत्रलाई खुलाउन भनेको छ । डान्सबार, दोहोरी नाचघर, क्लब र रेष्टुरेन्ट लगायतका रात्रीकालिन व्यवसायलाई स्वास्थ्य मापदण्ड पालना गर्दै राती १२ बजेसम्म खुलाउन अनुमति दिएको छ ।










