संगीत । लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा सुरु भएको छ । पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोहरुको संख्या बढ्दै गर्दा पनि ब्याण्ड च्यालेन्ज भने हुन् सकेको थिएन । केहि वर्ष अगाडी ‘ब्याण्ड च्यालेन्ज’ प्रतियोगिता भएको थियो । जसलाई दर्शकले रुचाएका थिए । यसैले गर्दा पनि एपीवान टेलिभिजनबाट प्रशारण भएको ‘ब्यान्ड च्याम्पियन’ लाई लिएर दर्शक उत्साहित छन् ।
ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए । जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन् । ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी दिए। ‘ब्यान्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो। यहाँ एक जनाको मात्रै होइन, पूरै समूहकै प्रस्तुति हेरिन्छ’, निर्देशक शेर्पाले भने, ‘प्रतिस्पर्धामा विशेषगरी रक, पप र आधुनिक मेलोडी गीतहरू प्रस्तुत हुनेछ।’
ब्यान्डको प्रतिस्पर्धा भए पनि भोकल, म्युजिक र समूहको प्रस्तुति हुनेछ। जज राउन्डपछि ओरिजिनल सङ राउन्ड सुरु हुनेछ। जहाँ ब्यान्डले आफ्नै गीत गाउनुपर्ने हुन्छ। ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन् । नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन्। एपीवान टेलिभिजनमा शनिबार राती ९ बजे पछि प्रशारण हुने ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चार/चार लाख पुरस्कार पाउनेछन् ।










