दीपक-दीपासँग ‘कालो कोट’ बनाउदै रोहित

फिल्म । ‘छ माया छपक्कै’ निर्माण गरेर टीमअप भएका निर्माता रोहित अधिकारीले दीपक राज गिरी र दीपाश्री निरौलाको समूहसँगै मिलेर नयाँ फिल्म दर्शकसामू ल्याउने भएका छन् । ‘छ माया छपक्कै’को दोस्रो शृंखला बन्न सक्ने चर्चाकै बीच रोहितले ‘कालो कोट’ शीर्षकमा फिल्म बनाउने तयारी थालेका हुन् । प्रदीप भारद्वाजले लेखिरहेको फिल्मको हाल कास्टिङको काम पनि चलिरहेको छ ।

फिल्म युनिटसंग जोडिएको स्रोतलाई आधार मान्ने हो भने ‘सोसल–कमेडी’ विधाको यो फिल्ममा निर्माण टिमले सौगात मल्ललाई एन्टागोनिस्टको लागि अफर गरेका छन् । सौगातले यो भूमिका स्वीकार गरे , उनको सहकार्य दीपक – दीपा समुहसंग पहिलो हुनेछ । यस अगाडी दीपक – दीपाले दयाहाङ राईसंग ‘वडा नम्बर ६’ मा काम गरिसकेका छन् । फिल्ममा तीन अभिनेत्री रहनेछन् । यसका लागि पनि उनीहरूले स्थापित हिरोइनसँग कुरा गरिरहेका छन्

यस्तै , फिल्मलाई सिमोश सुनुवारले निर्देशन गर्न सक्ने सम्भावना बढेको छ । यसअगाडी पनि विभिन्न स्क्रिप्टमा सिमोश र दीपक – दीपाको समुह बीच फिल्म बारे कुराकानी भइसकेको छ । तर , सहकार्य हुन् सकेको छैन । दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिज मात्र निर्देशन गर्ने मनस्थिति बनाएकोले अन्य शिर्षकका फिल्ममा नयाँ निर्देशक रहनेछन् ।

यसअघि ‘छ माया छपक्कै’ पनि दीपेन्द्र लामाले निर्देशन गरेका थिए । फिल्ममा दीपक–दीपाको समूहबाट दीपक–दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रुपमा रहने छन् । यसअघि समूहमा रहेर काम गर्दै आएका जितु नेपाल यो फिल्ममा रहने छैनन् । कोरोना भाइरस महामारीले दुःख नदिए तिहारपछि सुटिङमा जाने रोहित र दीपक–दीपा समूहको तयारी छ । -न्युज कारखाना

कमेन्ट गर्नुहोस्