कोपा अमेरिका : पेरू सेमिफाइनलमा

खेलकुद । कोपा अमेरिका २०२१ खेल अन्तर्गत पराग्वेलाई हराउँदै पेरू सेमिफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा पुगेको थियो । ओलिम्पिको फुटबल मैदानमा शनिबार बिहान भएको खेलको ११ औँ मिनेटमा गुस्ताभो गोमेजले गोल गर्दै पराग्वेलाई सुरूवाती अग्रता दिलाएका थिए। २१ औँ मिनेटमा गोमेजले नै आत्मघाती गोल उपहार दिँदा खेल १-१ गोलको बराबरी आयो।

त्यसपछि ४० औं मिनेटमा जियानलुका लापडुलाले गोल गर्दै पेरूलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको थप गरिएको समयमा पाराग्वे १० खेलाडीमा सीमित भयो । उसका गुस्ताभ गोमेज दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य बने ।

दोस्रो हाफको ५४ औँ जुनियर अलोन्सोले गोल गर्दै पाराग्वेलाई २-२ को बराबरीमा ल्याए । ८० औँ मिनेटमा योटुनले गोल गर्दै पेरुलाई पुनः ३-२ को अग्रता दिलाए। खेल सकिन ५ मिनेट बाँकी हुँदा पेरु पनि १० खेलाडीमा सीमित बन्यो । उसका अन्द्रे क्यारिलोले दोहोरो पहेँलो कार्ड बेहोर्दै बाहिरिए।

खेलको ९० औँ मिनेटमा गाब्रियल एभालोसले गोल गर्दै पराग्वेलाई खेलमा फर्काए। त्यसपछि थपिएको अतिरिक्त समयमा दुबैतिरबाट गोल हुन नसकेपछि खेल ३-३ को बराबरीमा सकिएको हो।

पेनाल्टी सुटआउटमा पेरूका जियानलुका लापडुला, भिक्टोर योटुन र रेनाटो टापियाले गोल गर्दा स्याटियागो ओर्मिनो र क्रिस्टियन क्युभा भने चुकेका थिए । पराग्वेका लागि एन्जल रोमोरो, जुनियर अलोन्सो र रोबर्ट पेरिसले गोल गर्दा ब्रयान सामुडियो र हेक्टर मार्टिनेजले भने गोल गर्न सकेनन् । पेनाल्टी सुट आउट पनि समान ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । सडन डेथमा पेरूका मिगुइल ट्राउकाले गोल गर्दा पराग्वेका एल्बर्टो स्पिनोलाले गोल गर्न नसक्दा टोली क्वार्टरफाइनलबाटै घर फर्कनुपर्‍यो । पेरूले अब सेमिफाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्