देश । चीनबाट अनुदान प्राप्त चिनियाँ खोप भेरोसेल विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । सरकारले सोमबार गरेको परिपत्र अनुसार तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् ।
अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।
चीन तीन वर्ष माथिकालाई खोप
अहिलेसम्म प्रयोगमा रहेका १५ वटा खोपहरु सबैजसो १८ वर्षभन्दा माथिका वयस्कका लागि लगाइएको थियो । केही मुलुकहरुले १३ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउन अनुमति दिए पनि यति कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो । अहिलेसम्म बालबालिकामा खोपको साइड इफेक्टका बारेमा कम अनुसन्धान भएका छन् । सिनोभ्याकका सीइओ यिन एइदोङले सीसीटीभीसँग भनेका छन्, ‘हामीले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको छ ।’ चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने यकिन भइनसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।











