विदेश । गत वर्षको डिसेम्बर अन्तिममा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वका अधिकांस देशमा फैलीसकेको छ । यसले महामारीको रुप लिदै गर्दा यसलाई रोक्न अहिले विश्वका अधिकांस देशले लकडाउन गरेका छन् । नेपालमा पनि गत चैत्र ११ गतेदेखि लकडाउन गरिएको छ । लकडाउन भएता पनि केहि दिन यता कोरोना भाइरसको महामारी समुदाय स्तरमा तिब्र रुपमा फैलिदै छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुग्नै लाग्दा साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ जना पुगेको छ । जसमा ११ जना नेपाली महिला छन् । भने ,एकजनाको मृत्यु भईसकेको छ । रियादस्थित नेपाली राजदूत महेन्द्रसिंह राजपुतका अनुसार साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले यो सूचना उपलब्ध गराएको हो ।
सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिम क्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका छन् । साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् । मंगलबार ९ जना सहित आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ । (एजेन्सी)








