भारतले बनायो कोरोनाको ‍औषधि

विदेश । भारतमा पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरले दिल्ली , मुम्बई जस्ता सहरमा निकै ठुलो असर गर्यो । त्यहाँ संक्रमित र मृतकको संख्या बढ्दा त्यसको असर नेपालमा पनि पर्यो । नयाँ प्रकारको भेरियन्टले भारतमा स्वास्थ्य क्षेत्रलाई निकै चुनौती दियो । अप्रिलको सुरुवातमा अक्सिजनको हाहाकार भयो । त्यो अवस्था वैशाखमा नेपालमा पनि आयो । यद्दपी पछिल्लो समय भारतबाटै आशा लाग्दो समाचार आइरहेको छ ।

भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गर्दै त्यसले कोरोना भाइरस संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्दै यो भारतको विज्ञताको उदाहरण भएको बताएका छन् ।यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधि भनिएको छ । यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो ।

डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको परीक्षण गरिएको थियो । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्