‘फिल्म कल्चर बढाउनु पर्छ’

फिल्म । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणमा एक अन्तरक्रियात्मक सेसनमा नेपाली फिल्मको विकल्प खोज्ने वा हलमै निर्भर रहने विषयमा छलफल भएको छ । निर्मातासंगै निर्देशक , कलाकार , वितरक समेत रहेका अशोक शर्मा , अभिनेत्री तथा निर्देशक रेखा थापा , निर्माता तथा गायक अर्जुन कुमार , ओटीटी सेवा प्रदायक मनोज अग्रवालद्वारा गरिएको अन्तरक्रियामा अधिकांसले नेपालको परिवेशमा हलनै उत्तम रहेकोमा जोड दिए । यद्दपी नेट टिभीका संचालक अग्रवालले भने नेपाली फिल्मले ओटीटीमा फड्को मार्ने उत्तम समय रहेको बताए । ‘अब विकल्प पनि खोज्ने बेला आएको छ किनकी हामीसंग केहि उदाहरण समेत छन् । विश्वका फिल्महरु डिजिटल माध्यममा समेत आइरहेको उदाहरण छन् , हामी पनि बनिसकेका फिल्मलाई उच्चतम प्रतिफल दिएर दर्शकसम्म पुर्याउन तयार छौं’ अग्रवालले भने । उनले विश्वमै नेटफ्लिक्स , प्राइम भिडियो लगायत ओटीटी प्लेटफर्ममा दर्शक बढिरहेको र फिल्म निर्माताको विश्वास पनि जितेको बताउदै नेपाली फिल्म अब ओटीटीमा आउन् तयार हुनु पर्ने बताए ।

तर , अग्रवालको कुरासंग रेखा सहमत सुनिनन् । निर्माणको समेत अनुभव बटुलेकी रेखाले नेपालमा फिल्म पारखी माँझ प्रविधि सहज नभएकोमा जोड दिईन् । उनले ओटीटी विकल्पमा राख्न सकिने कुरामा समर्थन गर्दै पहिलो प्राथमिकतामा हलनै रहेको बताइन । ‘फिल्म हलमै हेर्दा रमाइलो हुन्छ । फेरी हाम्रो सम्पूर्ण दर्शक कहाँ डिजिटल प्लेटफर्मले पुर्याउन सक्दैन्’ रेखाले बताइन् । उनले नेपाली फिल्मले दोस्रो विकल्प र विश्वबजारमा पुग्न ओटीटी मार्फत तयारी थाल्नु पर्ने बताउदै घरेलु दर्शकलाई हलनै उपयुक्त रहेको बताइन ।

रेखाको कुरासंग पूर्ण रुपमा सहमत हुन् सकेनन् , निर्माता तथा गायक अर्जुन कुमार । चलचित्र विकास बोर्डको सदस्य समेत रहेका अर्जुनले हल बाहेक पनि विकल्प चाहिनेमा जोड दिए । ओटीटी सेवा प्रदायक अग्रवाल झैँ उनले युट्युब बाहेकको विकल्पमा ध्यान दिनै पर्ने बताए । ‘हल बन्द हुँदा हाम्रो फिल्म नै ठप्प छ , अब विकल्प चाहिन्छ नै । नेपाल टेलिभिजन लगायतका स्थानबाट पनि नेपाली फिल्म हेर्न सहज हुनुपर्छ र चलायमान बनाउन विकल्प चाहिन्छ’ अर्जुनले भने ।

यस्तै , फिल्मको अभिनय , निर्माण , निर्देशन , प्रदर्शन लगायतका विधामा आफ्नो उपस्थिति जनाइसकेका अशोक शर्माले नेपालमा फिल्म कल्चर कम भएको बताए । उनले अन्य देश झैँ यहाँ फिल्म हेर्ने संस्कार नरहेको तर्फ ध्यान केन्द्रीत गराए । उनले फिल्मलाइ हलमै हेर्नको लागि बनाउनेमा जोड दिए । ‘डिजिटल प्लेटफर्मका लागि बनाउने कन्टेन पनि होलान् , तर फिल्म हलकै लागि हो’ उनले भने । उनले हललाई निर्माता तथा निर्देशकको सिकाइ वा अनुसन्धानको रुपमा लिन आग्रह पनि गरे । ‘फिल्म हेर्दा दर्शकले दिने प्रतिक्रियाले नै अर्को फिल्म बनाउदा मार्गदर्शन गर्छ , त्यसैले हलको आफ्नै अहम भूमिका छ र त्यो रहिरहने छ’ उनले हलको विकल्प हलनै रहेको बुझ्न आगह गरे । गत विअशाकः २३ गतेबाट सुरु भएको निफ २७ गते समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्