विदेश । अन्ततः भारतमा अंग्रेजी नयाँ वर्षकै दिन सेरम इन्स्टि्ट्युट अफ इण्डिया(एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले खोपलाई अनिमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । यो निर्णयसँगै भारतमा खोपको आपत्कालीन प्रयोगको बाटो खुलेको छ । तर, यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । त्यसपछि भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रुपमा बाटो खुल्ने छ ।
आगामी साताभित्र उक्त निर्णय भइसक्ने पनि अनुमान गरिएको छ । यस्तै , भारत बायोटेकद्वारा विकास गरिएको कोभ्याक्सिनको आपत्कालीन अनुमति दिने प्रक्रिया पनि अन्तिम चरणमा रहेको बताइएको छ । भारतमा आपत्कालीन अनुमतिका लागि हालसम्म फाइजर, सेरम र भारत बायोटेकले आवेदन दिएका थिए । बेलायतले सरकारले गत बुधबार मात्र अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्धारा विकसित उक्त खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय गरेको थियो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सेरमले अक्सफोर्ड–एस्ट्राजेनेकासँग मिलेर पाँच करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको छ । कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी कोल्ड स्टोरको चेनको व्यवस्था गरिसकेको बताइएको छ । भारत सरकारले आगमी जुलाई महिनासम्म ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । भारतमा सेरमद्वारा उत्पादित खोपले अनुमति पाएसँगै नेपालमा पनि खोप चाँडै उपलब्ध हुने आश बढेको हो । (कान्तिपुर दैनिकबाट साभार )








