फिल्म । आफ्नो पछिल्लो फिल्म ‘केजिएफ’ को कारण साउथ इण्डियासँगै बलिउडमा पनि उत्तिकै क्रेज बनाउन सफल भएका निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा बाहुबली स्टार प्रभाससँग काम गर्ने खबर सार्वजनिक भईसकेको छ । उनले आउँदो जनवरीबाट छायाँकन गर्ने फिल्मको नाम ‘सलार’ राखिएको छ । यसैवर्ष रिलिज हुने भनिएको फिल्म ‘केजीएफ २’ कोरोना भाइरसको कारण प्रदर्शनमा आउन सकेन । आफ्नो सेड्युल अनुसार निर्देशक प्रशान्तले दोस्रो प्रोजेक्टको काम अगाडी बढाएका हुन् ।
मास इन्टरटेनीङ फिल्म निर्देशनमा अब्बल सावित भएका प्रशान्तले प्रभासको क्रेज अनुसारकै एक्सन र थ्रिलर कथामा फिल्म बनाउने तयारी गरिरहेका छन् । यसैबीच फिल्ममा प्रभासको को-स्टार दिशा पटानी बन्ने भएकी छिन् । भारतीय मिडियाले निर्माण पक्षले प्रभासको लागि नोटिस भएको नयाँ अनुहार खोजिरहेको र त्यहि अनुरुप दिशा छनौट भएको बताएको छ ।
कुनै समय टाइगर श्राफकी प्रेमिका भनेर चिनिने दिशाले पछिल्लो समय आफ्नो ग्लामर छवि बलिउडमा स्थापित गरिसकेकी छिन् । उनको सलमान खानसँग अभिनय रहेको फिल्म ‘राधे’ प्रदर्शनको तयारीमा छ भने प्रभाससँगको फिल्म सन् २०२२ मा रिलिज हुनेछ । फिल्मलाई केजीएफकै टिमले निर्माण गर्नेछ । फिल्मको सार्वजनिक फस्टलुकमा प्रभास निकै आक्रामक देखिएका थिए । (एजेन्सी)










