विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराती भएको खेलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । दिल्लीले पछिल्लो खेलमा राजस्थान रोयल्समाथि ४६ रनको सहज जित निकाल्दै फेरि शीर्ष स्थानमा फर्किएको हो। शीर्ष स्थानको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा झरेको छ ।
शुक्रबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन जोड्यो । १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले कमजोर ब्याटिङ गर्यो । राजस्थान २ बल खेल्न बाँकी छदा १ सय ३८ रनमा अलआउट भयो । आइपिएलमा शनिबार दुई खेल हुँदैछ । दिउँसो पौने चार बजे सुरु हुने खेलमा किंग्स ११ पञ्जाव र कोलकता नाइटराइडर्स भिड्नेछन् । यस्तै राति पौने आठ बजे चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ।









