विदेश । गत वर्षको डिसेम्बरमा पहिलो पटक भेटिएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको संक्रमण रोक्न सकिने भएकाले अहिले विश्वका अधिकांस देशमा लकडाउन छ । केहिले कडाइ गरेका छन् भने केहिले आंशिक । कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या विश्वभरमा ३ लाख पुगेको छ । हालसम्म खोप पत्ता नलागेको कारण कोरोना भाइरसबाट बच्न विश्वको आधा भन्दा बढी जनसंख्या घरमै बसिरहेका छन् ।
यस्तो अवस्थामा युरोपेली मुलुक स्लोभेनियाले कोरोना भाइरस (कोभिड–१९) महामारीको आधिकारिक अन्त्य भएको घोषणा गरेको छ । पछिल्लो दुई साता दैनिक ७ जनाभन्दा कम व्यक्तिमा मात्र संक्रमण पुष्टि भएपछि स्लोभेनिया सरकारले बिहीबार अबेर आफ्नो मुलुक कोरोना भाइरस संक्रमणबाट मुक्त भएको घोषणा गरेको हो । योसँगै कोरोनामुक्त भएको घोषणा गर्ने स्लोभेनिया युरोपकै पहिलो राष्ट्र बनेको छ । स्लोभेनियाले अप्रिल २० बाट लकडाउनलाई खुकुलो बनाउँदै लगेको थियो । यसै साताको सुरुआत्देखि सार्वजनिक यातायात सुचारु गरिएका छन् भने अर्को साताबाट केही शैक्षिक संस्था खोल्न अनुमति दिइएको छ । ३० कोठासम्मका होटल र सबै बार तथा रेस्टुराँ अर्को साताबाट सञ्चालन गर्न पाइने छ ।
आधिकारिक रूपमै कोरोनामुक्त भएको घोषणा भएपछि महामारीका बेला नागरिक र कम्पनीहरुलाई दिने भनेर घोषणा गरिएको आर्थिक सहायतासम्बन्धी व्यवस्था पनि मेको अन्त्यबाट अन्त्य हुने स्लोभेनिया सरकारले जनाएको छ । कोरोनामुक्त भएको घोषणा गरे पनि स्लोभेनिया सरकारले आफ्ना नागरिकलाई सम्भावित संक्रमण नफैलियोस् भनेर केही आधारभूत नियम मान्न भने आग्रह गरेको छ ।
२० लाख जनसंख्या भएको स्लोभेनियाको सीमा युरोपकै दोस्रो प्रभावित इटाली, अस्ट्रिया, हंगेरी र क्रोएसियासँग जोडिएको छ । गत मार्च १२ मा कोरोना महामारीको घोषणा गरेको स्लोभेनियामा हालसम्म १ हजार ४ सय ६४ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ ।










