देश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल पनि लकडाउन छ । गत चैत्र १० गते दोस्रो कोरोना संक्रमितको पहिचान भएसँगै नेपाल चैत्र ११ गते देखि लकडाउन गरिएको छ । लकडाउनको कारण देश नै ठप्प छ । नेपाल सरकार कोरोना भाइरसको यो महामारीको विपदलाई टाल्न कोष खडा गरेको छ । साथै , सहयोगीलाई सहयोग गर्न आग्रह पनि गरेको छ । यसै सन्दर्भमा प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्दै सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने हयेको छ । नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाले कोषमा रकम जम्मा गर्न निर्देशन दिएको हो ।
पत्रमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) ले तीन दिन, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) ले पाँच दिन, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) ले ७ दिनको तलब कट्टी गरी कोषमा दाखिला गर्नुपर्ने भनिएको छ ।
जसअनुसार असईले दुई हजार छ सय ५८, सईले दुई हजार आठ सय २० रुपैयाँ कोषमा दाखिला गर्नुपर्नेछ । इन्स्पेक्टरले छ हजार, डीएसपीले छ हजार सात सय ३० र एसपीले सात हजार दुई सय ४५ रुपैयाँ जम्मा गनुपर्ने भनिएको छ । एसएसपीले ११ हजार ५३, डीआईजीले ११ हजार ९ सय, एआईजीले र आईजीले १४ हजार १ सय ६१ रुपैयाँ जम्मा गर्नुपर्ने भनिएको छ । कोरोना रोकथामका लागि लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त भत्ताको घोषणा गरेका बेला प्रहरी प्रधान कार्यालयले तलब कट्टा गर्ने निर्णय गर्दै कोरोनासँग लड्न खडा गरिएको विपद कोषमा सहायो गर्ने बताएको हो । आर्थिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाद्वारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कोषमा जम्मा गर्नुपर्ने भनिएको छ ।












