विदेश । पछिल्लो समय कोरोना भाइरस विश्वकै टाउको दुखाइ बनेको छ । यस भाइरसले गर्दा विश्वकै अर्थतन्त्रमा समेत असर गरेको छ भने यसको औषधि पत्ता नलाग्दा भयावह स्थिति छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक मानिसको ज्यान समेत गएको छ । भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको हो ।
भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाकाे मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा समय बिताएर भारत फर्किएका थिए । साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो । कर्नाटक राज्यकाे स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई क्वारेन्टाइनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।
कोरोना संक्रमण फैलन थालेसँगै भारतले सतर्कता अपनाएको छ । भारतले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न कुनै पनि देशका नागरिकलाई पर्यटक भिसा नदिने भएको हो । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारतले विश्वसँगको सम्पर्कबाट आफूलाई अलग राख्ने निर्णय गरेको हो। अब अप्रिल १५ सम्म कुनै पनि देशका नागरिक पर्यटक भिसामा भारत आउन पाउने छैनन् । तर कूटनीतिज्ञ, संयुक्त राष्ट्र तथा अन्तर्राष्ट्रिय संगठन, रोजगार र परियोजनामा काम गर्ने विदेशीहरूका भिसा भने कायम रहनेछन् । भारतकै नागरिक भए तापनि यदि उनीहरू चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आएका थिए भने उनिहरू १४ दिन सम्म क्वारन्टिनमा बस्न पर्ने भएको छ।










